दुताबास परिसर युएईमा एक क्लिक

पत्रकार महासंघ युएईको एक कार्यक्रममा बोल्दै

आहा कति राम्रो फूल

दलित एकता संजाल युएईको कार्यक्रममा

पत्रकार महासंघ युएईको एफएनजे अवार्ड २०१५ लिंदै

Monday, March 20, 2017

आज ५२ औं अन्तराष्ट्रिय जाती भेद तथा रंग भेद उन्मुलन दिवस


आज मार्च २१ अर्थात अन्तर्राष्ट्रिय जाती तथा  रंगभेद उन्मुलन दिवस । विभिन्न कार्यक्रमको आयोजना गरी संसारभर मनाँईदै छ ।  आज संसारभर जातिय विभेद तथा उत्पिडनका विरुद्द एक स्वर गुन्जने गर्दछ । नेपालमा पनि विध्यमान जातिय विभेदको विरुद्ध थुप्रै कार्यक्रमहरु आयोजना गरेर यो दिवस मनाईन्छ ।

दक्षिण अफ्रिकामा सन् १९५९ मा साप भिल्ले शहरमा गोरा जातिको रङ्ग विभेदका विरुद्ध आन्दोलनमा उत्रिएका ६९ जना कालाजातिको हत्या गरिएको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

संयुक्त राष्ट्रसंघले त्यस घटनालाई मानव अधिकारको हनन भनेर सन् १९६५ मा सबै प्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको हो । नेपालले सन् १९७१ मा यो महासन्धीको अनुमोदन गरेको हो ।

विश्व भर हुने जातीय एवं रंग भेदको विरुद्धमा विभिन्न कार्यक्रमहरु गरेर प्रत्येक वर्षको मार्च २१ तारिख यो दिवस मनाँईदै आईएको छ । यस अवसरमा नेपालमा समेत विविध कार्यक्रमहरु आयोजना गरिन्छ ।  विशेषगरि शहरका ५ तरे होटल र महंगा पार्टी प्यालेसहरुमा जातिय विभेद विरुद्धका ठुला ठुला ब्यानर टाँगेर विभिन्न कार्यक्रमहरु आयोजना हुँदै आएका छन ।

२०६२/६३ को जनआन्दोलनपछि पुनर्स्थापित  संसदले २०६३ जेठ २१ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । यस्तै जातीय छुवाछुत कसुर सजाय ऐन २०६८ व्यवस्थापीका संसदबाट पारित भईसकेपनि जातिका आधारमा गरिने भेदभावमा कमी आउन सकेको छैन । जातीय विभेदका क्रुर घटनाहरुमा अझै कमि आउन नसक्नु दु:खद हो ।


यसपटकको अन्तराष्ट्रिय नारा

Racial profiling and incitement to hatred, including in the context of migration. ( रंगभेदको तस्विर र यसलाई घृणा गर्ने आँट तथा आप्रावासीका सन्दर्भहरु । )

राष्ट्रिय नारा
जातीय तथा रंगभेदद्धारा सत्ताको उत्पीडनमा परेका आम दलित उत्पीडितहरु तथा न्यायपूर्ण समाज निर्माणका जुझारु मनोवलहरु ।


Tuesday, September 13, 2016

मस्तिष्क



मस्तिष्कको काम सोच्ने हो । विश्लेषण गरेर सहि गलत छुट्याई सहि निश्कर्ष लिने हो । तर हामि विश्लेषण गर्ने भन्दा पनि सोच्ने काम बढी गर्दछौँ । बरु सहि गलत छुट्यादैनौ हामी , झट्ट निर्णय लिई हाल्छौँ । विश्लेषण गर्ने काममा हाम्रो अभ्यास ज्यादै कम भईरहेको हुन्छ । स-साना मुद्दाहरुमा पनि चाहिने भन्दा बढी सोचेर घण्टौ समय गुजारी रहेका हुन्छौँ ।

बढि सोच्ने भएकै कारण हामी डिप्रेसनको रोगी बन्न पुग्छौं । कहिलेकाही राम्रा अवसर र साथहरु गुमाउछौँ । आकस्मिक निर्णय लिनुपुर्व पनि सोच्नु त पर्छ नै । तर कहिलेकाही त्यतिबेला हामी चुक्ने गर्छौँ । त्यस्तो अवस्थामा हामिसंग सोच्ने समय पल भरको मात्रै हुन्छ । त्यतिबेलाको दोषलाई लिएर पश्चाताप मानिरहनु भने हुदैन ।

यदि हामिसंग प्रसस्त समय छ भने चाहिँ विश्लेषणमा समय गुजार्न सकिन्छ , तर सिमित । मस्तिष्क भनेको मोटरसाइकलको ईंजिन जस्तो लाग्छ मलाई । संतुलन राखेर चलाईराख्दा कन्डिसनमा रहने । सबै पार्टपुर्जाले राम्ररी काम गर्ने । बेलाबेला मोबिल परिवर्तन नगरी पेट्रोलकै भरमा एकतर्फि घोटियो भने ईंजिन गण्डागोल हुने ।

यसैगरि हाम्रो मस्तिष्कलाई पनि मोबिलको रुपमा संतुलित भोजन , आराम , मनोरञ्जन जस्ता सप्लिमेन्ट दिई रहनुपर्छ । त्यसको निम्ति साथी , संगिनी , आफन्तहरुसंग भेटघाट , साक्षत्कार गर्न सकिन्छ । एक्लै बस्ने , एक्लै रम्न खोज्ने व्यवहारले हामी झनझन जटिल मोड तिर जान सक्छौँ । यसको सिधा असर मष्तिष्कमा पुग्ने गर्छ । त्यहिंबाट हामी मस्तिष्कको बिरामी बन्न पुग्छौं ।

यी आधारभुत कुराहरुसंग लगभग हामी सबै जानकार छौं । यद्यपि यसमा हामी उत्ति ध्यान दिईरहेका हुदैनौ । कामको बोझ , पारिवारिक कुराहरु , अन्य व्यक्तिगत कुराहरु , अर्थ व्यवहार आदि कुराले हमेसा नै पिरोली रहेको हुन्छ । यसबाट उम्कने बाटो पनि हुदैन । संभावना पनि रहँदैन । नैतिकता र कर्तव्यको चुँगुलमा हामी बाधिएको हुन्छौ । यस्तो अवस्थाको सहि निकास भनेको आफ्नो सहयात्रीसंगको गन्थन नै हो ।

संगै यात्रा गर्ने श्रीमान , श्रीमति , सहकर्मी हुन या आफुलाई हरपल केयर गर्ने प्रेमी प्रेमिका । यी नै तपाईंको समस्याको समाधान बन्न सक्छन् । यिनीहरुको सल्लाह , सुझावबाट तपाईलाई सहि निर्णय लिने शक्ति मिल्न सक्छ । तपाईं आफ्नो मनलाई डुलाउनुहोस , संसार घुमाउनुहोस । विश्व ब्रह्माण्डको भ्रमण गराउनुहोस । भुत , वर्तमान , भविष्य सबैतिर सयर गराउनुहोस तर एकैछिनमात्र । सिमित समयावधिका लागि मात्र ।

मनलाई अस्थिर राख्नुहुदैन । सधै डुलाई रहनु हुदैन । हिजो जे जस्तो भयो , भयो । भोलि मेरो निम्ति राम्रो बनेर आउँदैछ भन्ने सोच्नुस । भोलिको अवसर र चुनौतीको सामना गर्न आफुलाई तयार पार्नुहोस । अवश्य पनि तपाईले भोलिलाई जित्नुहुनेछ । मुख्य कुरा त तपाईंको सोच नै हो । सकारात्मक सोच राख्नु भयो भने तपाईंले सकारात्मक परिणाम नै हासिल गर्नु हुनेछ ।

कथमकदाचित सोचे जस्तो भएन भने विचलित नहुनुहोस । एउटा अर्को भोलि तपाईका निम्ति सुनौलो अवसर लिएर आउने छ भन्ने सोच्नुहोस । असल सोच्नुस , असल बन्नुस , असल नतिजा पाउनुहोस । तपाईंको जय होस ।

दिनांक - २८ भाद्र , मंगलबार 
अबुधाबी

Monday, July 25, 2016

श्रावण महिना र यसको महिमा


"मानो खाई मुरि उब्जाउने महिना" अर्थात असारको बिदाई संगै श्रावण महिनाको पदार्पण भईसकेको छ । धार्मिक , सांस्कृतिक एवं  प्राकृतिक रुपले आफ्नो छुट्टै महत्त्व र महिमा बोकेको यस  श्रावण महिनाको आगमन संगै हरेक हिन्दुजनका घर-घरमा शिवस्तुती र मन्त्रोच्चारण शुरु भईसक्यो । यो महिनालाई आराद्यदेव भगवान शिवको भक्ती र उपासना गर्ने महिनाको रूपमा लिने गरिन्छ । वैदिक शास्त्रले समेत यस महिनालाई भगवान शिवको आराधना गर्ने पवित्र महिनाको रूपमा परिभाषित गरेको छ ।

हुन त भगवान शिवको आराधना गर्ने अन्य धेरै अवसर र पर्व छन्  , जस्तै : बाला चतुर्दशी , मकर संक्रान्ती , महाशिवरात्री , अक्षय तृतीया आदि । यी अवसर पनि भगवान शिवको आराधना गर्ने महत्त्वपूर्ण पर्व हुन । तथापि श्रावण महिनाको भने अलग्गै स्थान र महत्त्व रहेको छ ।

पौराणिक मान्यता अनुसार यसै महिनामा पार्वतीले निराहार व्रत बसि शिव स्वामी पाउन आराधना गरेको हुनाले भगवान शिवलाई पतिको रूपमा पाएको मान्यता रहेको छ । त्यसैले पनि विशेषत: अविवाहित नारिहरु भगवान शिव जस्तै पराक्रमी पति पाउने कामना राखेर महिनाभरी शिवको आराधना गर्ने गर्छन् । त्यस्तै विवाहित नारिहरु आफ्नो श्रीमान र सन्तानको दिर्घायुको कामना गरेर व्रत बस्ने गर्छन् । सन्तान विहिनहरु समेत सन्तान प्राप्तिका निम्ति शिवको उपासना गर्ने गर्छन् । यस महिनामा सोमबारको विशेष महत्त्व रहेको छ ।

सोमबारका दिन भगवान शिवको उपासना गर्दा छिट्टै प्रसन्न हुने र मनोकांक्षित वर प्रदान गर्ने विश्वास रहि आएको छ । सोमबारका दिन भक्तजन बिहानै उठि स्नान गरि शिवालयमा बेलपाती , दुध , जल चढाउने गर्छन् ।त्यसैले श्रावणको सोमबार शिवालय , मन्दिर र शक्तिपिठहरुमा भक्तजनको भिडभाड हुने गरेको छ । लामो लाईनमा बसेर निकै संघर्षपुर्वक दर्शन र पुजा गर्न पाईन्छ ।


यस महिनाको महिमा अपरामपार छ । कृषकहरु रोपाइँको मैजारो गर्ने देखि लिएर लुतो फाल्ने , व्रत बस्ने , लसुन - प्याज , माछा-मासु नखाने , हातगोडाका कपाल , नङ नकाट्ने आदि प्रचलन रहि आएको छ । ठुला ठुला शिवका शक्तिपिठहरुमा महिना भरिनै मेला लाग्ने गर्छ । भक्तजनको घुईंचो हुने गर्छ । यसबाहेक नेपाली नारिहरु यस महिनालाई अर्को एउटा  छुट्टै तरिकाले पनि मनाउने गर्छन् ।

व्रत संगै हात भरी हरियो चुरा र मेहन्दीले सजिएर चोखो हरियो वस्त्र पहिरने चलन छ । चारैतिर जलमग्न हुने र खेतमा हरियो धान मौलाउँदै गएको प्राकृतिक सौर्न्दर्यताको सम्मान स्वरुप हरियो चुरा र बस्त्र धारण गरेको बुझ्न सकिन्छ । यसको वैदिक मान्यता त पंक्तिकारलाई थाहा छैन तर यसलाई प्रकृति प्रतिको सम्मानको रूपमा लिन सकिन्छ ।

धर्म , संस्कृति र परम्पराबाट टाडिदै गएको नेपाली समाजले राम्रा संस्कृति र परम्पराको जगेर्ना गर्ने बेला आएको छ । धर्मलाई धर्मकै रूपमा लिनु पर्छ । यसलाई आफू अनुकुल परिभाषित गरेर दुर्घन्धित बनाउने कार्य बन्द गरौँ । सबैको सम्मान गरौँ , सबैलाई बराबर व्यवहार गरौँ । जय शम्भो !!!

Friday, July 15, 2016

फेसबुकबाट जोडिएको एउटा प्रेम


बेबि , नियतीको खेल पनि क्या गजब छ हगि ? हिजोसम्म हामी अलग अलग बाटोमा थियौं । गन्तव्य पनि अलग । लाग्थ्यो तिमी पुर्व जाँदै छौ म पश्चिम । तर आज हामी एउटै दिशाको यात्री बनेका छौँ । गन्तव्य पनि एउटै । तिम्रो विचार र मेरो विचार कत्ती भिन्न थियो हगि ? यहि विचार नमिलेर हामी कत्ती लड्यौँ , कत्ती झगडा गर्यौँ , ठुस्स परेर एकअर्कासंग नबोल्ने परिस्थिति पनि थुप्रै आए । तर आज हेर त ! हामी एउटै बाटोको सहयात्री बनेका छौँ । गन्तव्य पनि एउटै , तिमी जहाँ जान्छौ , म त्यहीँ ।

चुम्बकको असमान ध्रुवहरुबिच आकर्षण भएझैँ हिजो पर-पर भाग्ने हामी आज एकै ठाउँमा उभिएका छौँ । अझ भन्नुपर्दा टाँसिएका नै छौँ , जति नै छुट्याउन खोजेपनी टाँसिई हाल्ने । अब त जुनसुकै तत्वको घर्षणले पनि हाम्रो आकर्षणलाई धमिल्याउन सक्दैन ।

बेबि , हिजो जस्तो लाग्छ तिमिसंग मेरो चिनजान भएको । यहि फेसबुकको दुनियाँमा मैले भेटेको तिमिलाई , हिजै जस्तो लाग्छ । औँंला भाँच्दा थाहा पाएँ भर्खर दुई महिना भएछ । तर हाम्रो सामिप्यता हेर्दा लाग्छ हाम्रो संबन्ध जुगजुगान्तर पुरानो हो ।

हो बेबि , साँच्चै तिमिसंगको नाता धेरै पुरानो भए जस्तो लाग्छ । हुन त हाम्रो भेट यहि फेसबुकमै भएको हो , फेसबुकमा भएका करिब ३५ सय साथीहरू मध्ये  तिमी एक हौ । तर किन ती सबै साथीहरू भन्दा तिमी धेरै माथी छौ । त्यति धेरै साथीहरूको माझमा पनि तिमिलाई मात्रै देख्छु ।

हुन त अरु सबै साथीहरुलाई म सम्मान गर्छु । माया गर्छु । तर अन्य साथीहरूबाट जुन अनुभूति हुन्छ तिमीबाट बिल्कुल फरक पाउँछु । तिमिबाट जुन आत्मीयता र अपनत्व मिल्छ त्यो अरुबाट मिल्दैन ।

हिजोका दिनहरुमा जतिबेला हामी भर्खरै साथी बनेका थियौँ । त्यो पहिलो च्याट सम्झिन्छु , हामी बिच भएको  "तपाईं" को सम्बोधन अनि खुलेर गरिएको कुराकानी । आ-आफ्नो परिचय र दैनिकी सबै क्या खुलेर सुनाएका थियौँ हगि ?

त्यो क्रमले बिस्तारै निरन्तरता पाएपछि हामी कत्ती नजिकियौँ है ? त्यो पहिलो रात सम्झिन्छु , जुन सिंगैरात हामीले फेसबुकमा कुरा गरेर बितायौँ । त्यसपछि त हाम्रो मित्रता झन नजिकियो । बिहान , दिउँसो , साँझ र  राती चारै प्रहर हामिले कुरा गरेर बिताउन थाल्यौँ । हरेक दिन करिब १८ घण्टा त हाम्रो नियमित कुरा हुन थाल्यो ।

तिमिले अति व्यस्त समयको बाबुजुद पनि मेरो निम्ति भरमग्दुर समय निकाल्यौ । काम गर्दागर्दै पनि कानमा ईयरफोन लगाएर मसंग बोल्ने समय मिलायौ । त्यसबाट म धेरै प्रभावित भएँ । हाम्रा व्यवहारिक कुराहरु , सुखदुःखका अनुभुतीहरु अनि संघर्षका कथाहरु सबै आदानप्रदान भए ।

व्यस्त प्रवाशी जीवन , त्यसमाथि पनि तिम्रो अति व्यस्त दैनिकीबाट मसंग कुरा गर्न समय निकाल्नु चानचुने होईन बेबि । तिमिले फेसबुक , वाट्सएप र ईमोमा पठाईरहने म्यासेज , मेरो खानपिन र आरामप्रतिको केयरिङको म कसैगरि पनि व्यख्या गर्न सक्दिन ।

हो बेबि , तिमिले एउटा असल साथिको दायित्व पुर्ण रूपमा निभायौ । मैले केकति सकेँ त्यो भगवान जानुन , या त तिमी स्वयं जान्दछौ । हाम्रो असल मित्रताको संबन्धमा त बिस्तारै प्रेम अंकुरण भईसकेछ । तिम्रो र मेरो पहिलो भेटबाट मात्रै पो पत्तो पायौं , हामी दुवैले ।

हाम्रो आ-आफ्नै संसार छ । सामाजिक , व्यहारिक , पारिवारिक व्यवधानहरु पनि छन्  । यो जान्दाजान्दै पनि हामी बिच अन्जानमै प्रेम बसिसकेछ । तिम्रो विगत तिमिसंग छ , मेरो विगत र वर्तमान पनि मसंगै छ । यद्यपि हामिले एक हुने सपना देखि सकेको छौँ । थाहा छैन यो सपना सपना मै सिमित हुने हो वा यथार्थतामा सार्थक हुने हो । तर म तिमिलाई सांच्चिकै माया गर्छु बेबि । ह्र्दयमै राखेको छु तिमिलाई । तर पनि तिमी कहिलेकाही मजाक पो गरेको त होईन भनेर शंका गर्ने गर्छौ । दु:ख लाग्छ मलाई ।

कहिलेकाही तिमिले मेरो मायालाई बुझ्न नसकेको हौ की जस्तो लाग्छ । कहिलेकाही त तिमिले पनि त्यस्तै व्यवहार गर्छौ । तर तिमी आफै त्यसलाई गलत सावित गरिदिन्छौ । खुसी लाग्छ । संसारमा सबैभन्दा धेरै माया गर्ने मान्छे भेटेको अनुभुती हुन्छ ।

हो बेबि , म साँच्चिकै तिमी भित्र हराउँछु अनि सुन्दर सपनाको शहरहरुमा शयर गर्न पुग्छु । हुन त यो पत्र पढ्दै गर्दा तिमिलाई हाँसो लाग्ला , तर यथार्थ यहि हो । म सारा संसार भुलेर तिम्रो मायाको सगरमा डुबुल्की मार्न पुगेछु । तैरिन आउँदैन , सकुशल निकाल्ने जिम्मा तिम्रो ।

बेबि , तिमिलाई सबै थाहा छ मेरो बारेमा । साथ दिन्छु पनि भनेकै छौ । तर पनि कहिलेकाही शंका लाग्छ । सायद मायामा शंका हुने नै भएर होला । तर म तिमिलाई विश्वास गर्छु , यहि विश्वासको बलले शंकालाई जित्ने कोसिस गर्दैछु ।

हुन त संसारमा माया भन्दा शक्तिशाली अरु छैन भनिन्छ । तर यस्तै मायाहरु पराजित भएका कैयन उदाहरणहरु हाम्रै वरिपरि छन्  । तिमी र म पनि भुक्तभोगी नै हौँ । भोगेका छौँ , त्यसैले कहिलेकाही डर लाग्छ । कतै हाम्रो सपनाको धरोहर पनि सिसा झैँ चकनाचुर हुने त होईन ?

बेबि , मैले जुन विश्वास तिमिमा गरेको छु त्यो कहिले नतोड ल ! मलाई थाहा छ तिमिपनी मलाई माया गर्छौ , त्यसैले त तिमी त्यति धेरै व्यस्त हुँदा पनि मेरो लागि समय निकाल्छौ । मेरो सुखदुःख सोद्छौ । खानपिन , आराम सबै केयर गर्छौ । दिनभरको कामले थकान भएको बेला पनि मध्य रातसम्म सुखदुःख र मायाप्रेमका कुरा गर्छौ । बिहानै म्यासेज पठाएर गूड मर्निङ भन्छौ , बेलुका म डिउटी जाने बेला पनि म्यासेज पठाएर मेरो सुखदुःख र खानपिन सोद्छौ । धेरै खुसी लाग्छ । संसारकै सबैभन्दा धेरै भाग्यमानी मै हुँ कि जस्तो लाग्छ ।

बेबि , आजसम्म तिमिले मलाई जुन साथ र माया दिएकी छौ , सधै यसैगरि दिई राख्नु ल ! म पनि सधै तिम्रै वरिपरि तिम्रो छाँया बनेर बस्न चाहन्छु । मेरो बलबुतो र सौभाग्यले भ्याएसम्म तिमिलाई माया र साथ दिनेछु । हाम्रो आ-आफ्नो मिसन पूरा भएपछी एक हुने सपना पनि चाँडै साकार होस । अन्जान वा जानाजान तिम्रो दिल दुखाउन पुगेछु भने गल्ती सम्झेर माफ गरिदेउ है । म सधै तिमिबाट आजको जस्तै माया र साथ चाहन्छु । 
I Love You My Sweet Heart....Missing You.
_____________________
Your Sweet Heart
Nischal
16th July 2016

Thursday, July 14, 2016

ठगहरु देखि सावधान हुनुहोला - भोगाई


रामकुमार परियार
त शनिबार मैले बरदुबईमा भोगेको एउटा घटना लेख्दैछु । साँझपख म अबुधाबी फर्कने तयारीमा थिएँ । पुलिस स्टेसन नजिकैको चौबाटोमा साथीसंग गफ गर्दै थिएँ । एकजना आफुलाई भारतीय बताउने व्यक्ती मेरो सामुन्ने आयो । मेरो अनुहारमा हेर्दै तेरो अनुहारमा त डण्डिफोर र दागहरु आएको रहेछ मसंग आयुर्वेदिक औषधि छ । धेरै राम्रो हुन्छ , साईडईफेक्ट पनि हुदैन भन्दै किन्न कर गर्‍यो ।

मैले उसको कुरालाई खासै महत्त्व दिईन । त्यस्तो केही होईन , म किन्दिन भनेर वेवास्था गर्न खोज्दै थिएँ । एकैछिनमा अर्को एउटा हेर्दा बंगाली जस्तो लाग्ने व्यक्ती आएर उसले पनि सोहि कुरा दोह्रोयाउँदै औषधि किन्न आग्रह गर्‍यो । मैले के रहेछ त यिनिहरुको कुरा भनेर बुझ्ने विचारले उनिहरुको कुरा मान्न तयार भए जस्तो गरेँ ।

नजिकैको फार्मेसी तर्फ देखाउँदै उतै जान भनेपछि म पछि लागेँ । पुलिस स्टेसन नजिकैको दुईवटा गल्लि पार गरेर भित्रको एउटा गल्लीमा रहेको सानो आयुर्वेदिक औषधि पसलमा पुगियो  । जहाँ दुई व्यक्ती औषधि बेचिरहेका थिए भने अन्य केही व्यक्ती समेत उपस्थित थिए । त्यहाँ पुग्नासाथ मसंगै जाने भारतियले पसलेलाई म तिर ईंगित गर्दै केही औषधि दिन भन्यो ।

म उसले देखाउने औषधिहरु हेर्न थालेँ । पसलेले लेबल बिनाको बोतलमा राखिएको सेतो पाउडर , त्यस्तै प्रकृतिको अर्को पाउडर र एउटा मलहम (क्रिम) निकालेर त्यसको प्रयोग विधि  र फाईदा बारे बखान गर्न थाल्यो । मैले उक्त पसलमा रहेका अन्य औषधिहरु बारे पनि बुझ्न चाहेँ । कुनैपनी औषधिमा लेबल थिएनन । आयुर्वेदिक भनिए पनि कहिले नाम नसुनेको जडिबुटीहरुको नाम भन्दै थियो ।

मलाई सो औषधिको पूरा डोज खरिद गर्नुपर्ने र त्यसको मुल्य २५० दिराम लाग्ने बतायो । मैले तत्कालै उक्त पसलेसंग त्यो औषधिहरुको लेबल नहेरी नकिन्ने बताएँ । र अन्य औषधिहरुको बारेमा समेत जानकारी लिन खोजेँ । पसलेले निशन्तान , शिघ्र स्खलन , तालुमा कपाल उम्रने , मोटोपना घट्ने , पेट घटाउने आदि सबै प्रकारको औषधि पाईने बतायो । म ती सबैकुरा बुझेर वासरुम जाने बहाना बनाएर फर्किएँ ।

हो , अहिले बरदुबईमा यसरी विभिन्न रोगको उपचार गर्ने बहानामा ठगी गर्ने ठगहरु सलबलाएका छन् । विशेषगरी मेट्रोपार्क आसपासका गल्लीहरुमा तिनीहरु भेटिन्छन् । जो अलि सोझा साझा व्यक्ती देख्नसाथ विभिन्न बहाना बनाएर नजिकिन्छन अनि यस्ता औषधिहरुमा फसाउँछन ।

यिनिहरु सामुन्ने आएर यस्तै कुरा गर्छन् अनि गल्लिमा रहेको पसलमा लगेर २०० , ३०० , ४०० दिराम बराबरको औषधि भिराउने गर्छन् । उनिहरुको औषधि बेच्ने शैलि पनि गजबको हुन्छ । सहजै गफमा पट्याउने गर्छन् । विभिन्न फाईदा देखाएर भ्रम छर्ने गर्छन् ।  तपाईं कोहि पनि यिनिहरुको पछि लागेर नफस्नुहोला । १५ जुलाई , २०१६

Saturday, June 25, 2016

आज आफ्नै बारेमा लेख्दै छु


लाई राम्ररी चिन्ने साथीहरू पित्रुके भन्नुहुन्छ । किनकी मलाई सानोतिनो कुराले पनि चित्त दुखी हाल्छ । कसैको दु:ख देखेँ भने आँसु खसी हाल्छ । बरु दुई वचन सहन्छु , फर्काउन चाहन्न । बरु एक्लै रुन्छु । कसैसँग पनि नराम्रो नहोस भन्ने मेरो चाहना । सबैसंग राम्रो संबन्ध बनाउने कोसिस गरिरहेको हुन्छु । यसैलाई मेरो कमजोरी ठानेर कहिलेकाही साथीहरू अचाक्ली गर्नुहुन्छ । दिक्क लाग्छ , चित्त त दुख्छ नै रिस पनि अति उठ्छ । तर रिस र ईख थुपारेर राख्न कहिले जानिन । कसैसँग नराम्रो भयो भने पनि चाँडै भुलिहाल्छु । आफै बोलाएको थुप्रै उदाहरणहरु पनि छन् । यसो गर्दा कसैले झुक्यो भनेर अरुसंग गफ नि लगाएका छन् । तर म त्यसलाई प्रवाह गर्दिन । किनकी म जे छु , सहि छु जस्तो लाग्छ ।

अर्को मेरो स्वभाव , म हरेक कुरालाई सकारात्मक नजरले हेर्ने गर्छु । हरेक विषय र घटनाक्रमलाई सकारात्मक नजरले हेरेर अर्थ्याउने कोसिस गरिरहेको हुन्छु , अपवाद बाहेक । फुलको आँखामा फुलै संसार भने झैँ राम्रो नजरले हेर्‍यौं भने राम्रो देखिन्छ भन्ने मेरो मान्यता हो । गुलाबको बोटलाई पनि राम्रो नजरले हेर्‍यौँ भने सुन्दर गुलाब देखिन्छ तर दाँयाबाँया सोचेर हेर्‍यौँ भने लामा-लामा काँडा देखिन्छ ।

नकारात्मकता भित्र सकारात्मक खोज्नेक्रममा कहिलेकाही चुक्नु पनि परेको छ । किनकि कलियुगमा असत्य हावी छ । उसैको वर्चस्व जम्दै छ । तथापि दस वर्ष बढि झोला बोकेर नेपालका बस्ती बस्ती चहार्दा समाजबाट सिकेका ज्ञान र अनुभवलाई व्यवाहारत: उतार्ने प्रयास गरिरहेको छु । अवरोधका अग्ला पहाडहरु पनि छलाङ मारेर अगाडी बढ्ने कोसिस जारी छ ।
अक्सर समसामयिक घटनाक्रम र विषयवस्तुहरु माथी टिकाटिप्पणी गरिरहेको हुन्छु । चाहे त्यो सामाजिक संजालमा होस अथवा ब्लग र अनलाईन वा अन्य छापा संचारमाध्यम । सामाजिक संजालमा धेरै शुभेच्छुक साथिहरुको प्रतिक्रिया पाउँछु । मलाई जत्तिले प्रशंसा गर्नुहुन्छ त्यति नै मन नपराउनेहरु हुनुहुन्छ । किनकी म छु नै त्यस्तो । साथीहरू मेरो स्वभाव छुच्चो छ भन्ने गर्नुहुन्छ । प्याच्च बोलि हाल्ने , लेखीहाल्ने ।

उबेला करिब १०/१२ वर्ष अगाडि , जतिबेला भर्खर म छापा संचारमाध्यमका लागि समाचार संकलन गर्न सिक्दै थिएँ । माईक समातेर कार्यक्रम संचालन गर्न सिक्दै थिएँ । त्यतिबेला देखि नै मैले यसरी मनमा लागेको कुरा प्याच्च भनिहाल्ने बानी बसाएको हुँ । जुन यद्यपि कायम छ । यहि स्वभावका कारण मलाई छुच्चो मान्छेको दोष लाग्ने गर्दछ ।

अध्ययन , पत्रकारिता , सामाजिक कार्यकर्ता , गैसस (CBO / NGO) को विकासे कार्यकर्ता हुँदै रेगिस्तानी मजदुर बन्न पनि भ्याएँ । करिब २७ महिना देखि युएई (दुबई) मा संघर्ष गर्दैछु । यहाँ आईपुगेपछि धेरै शुभेच्छुकहरु पाएँ । बुज्रुकको साथ र सहयोग पाई नै रहेको छु ।  पुराना साथीहरू संग पनि पुनर्मिलन भएको छ ।

यहाँको दुनियाँ फरक छ , तर कहिलेकाही नेपालकै छनक पाउँछु । नेपालीहरु बिचको जमघट , दर्जनौँ नेपाली संघसंस्था , समाजसेवीहरुको लस्कर आदि कुराले कहिलेकाही नेपालकै स्वाद दिने गर्छ । यद्यपि कहिलेकाही यहाँको दिक्दारलाग्दो संस्कार , राजनीतिक खिचातानी , आरोप प्रत्यारोप र खुट्टा तानातान देखि वितृष्णा पैदा हुने गर्छ  । यो सब नेपाली नेपाली बिचकै कुरा हो । नामकै रूपमा त १ सय बढी नेपाली संघसंस्था खुलेका छन् यहाँ तर सक्रिय संस्थाको नाम हातका औंलामा अँट्छन भन्दा अत्युक्ति नहोला ।

यो र यस्तै कुराहरुले कहिलेकाही सबै संबन्ध टुटाएर नितान्त आफ्नो काममा मात्रै ध्यान दिउँ कि जस्तो पनि लाग्छ । तर बानी र नशा जो छ , बिल्कुल नसकिने ।  सामाजीक क्षेत्रमा बितेको पछिल्लो एक दशकले यही सिकायो , घुलमिल - मेलमिलाप , सहयोगको आदानप्रदान र सामाजिक प्राणीको उदाहरण ।

खैर , जे होस । अपवाद बाहेकका अन्य कुरा यथावत राख्दै अब केही फरक बन्ने कोसिस गर्दैछु । किनकि खाडिमा बिताएको २७ महिनाले मलाई धेरै कुरा सिकाएको छ । अलिअली स्वार्थी पनि बन्नु पर्दो रहेछ , तर यसको मतलब स्वार्थको भकारी नै निर्माण गर्नुपर्छ भन्ने चैँ होईन । म जस्तो छु , त्यो ठिकै छ । थोरै परिमार्जन मात्रै गरे पुग्छ कि जस्तो लाग्छ । तर के के कुरा परिमार्जन गर्ने भन्ने चै समयले निर्दिष्ट गर्ला । धन्यवाद !!!
२०७३ असार १२ , अबुधाबी

Thursday, June 2, 2016

ज्येष्ठ २१ र छुवाछूत मुक्ती

आज ज्येष्ठ २१ , अर्थात जातिय विभेद तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस ।

वि.सं २०६३ साल ज्येष्ठ २१ गते , अर्थात आजकै दिन तत्कालीन संसदले नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । करिब ३५ सय वर्ष अघिदेखी जरा गाढेर बसेको जातिय विभेदलाई तत्कालीन संसदले कानुनत बन्देज लगाउँदै छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको हो ।

यद्यपि कानुन भने ०६८ ज्येष्ठ १० गते मात्रै आएको हो ।  तत्कालीन संसदले जातीय विभेद तथा कसुर सजाय ऐन -२०६८ को विधेयकलाई सोही दिन सर्वसम्मत अनुमोदन गर्दै पारित गरेको थियो । त्यस यता कानुनको रूपमा उक्त ऐन कार्यन्वयन हुँदै आएको छ ।

यद्यपि विभेदजन्य हिंसा र घटनामा भने कमि आउन सकेका छैनन् । विभिन्न बहानामा दलित भएकै कारण विभेद भएका प्रसस्त समाचारहरु सार्वजनिक हुँदै आएका छन् ।

हालै मात्र पनि विभेदका केही घटना संचार माध्यमहरुमा छाईरहेको अवस्था छ । कानुन बने पनी खुकुलो कार्यन्वयन र न्युनतम सजायको कारण विभेदजन्य घटना घटेको हो भन्न सकिन्छ । यसलाई राजनीतिक आवरणमा गरिने संरक्षण र ढाकछेपले समेत प्रभाव परेको छ ।

यस्तो अवस्थामा छुवाछुत मुक्त घोषणा र विध्यमान कानुनको पक्षमा वकालत गर्दै हिंड्नु पनि असोभनिय प्रायः देखिंदै आएको छ । आज यो दिवस मनाईरहँदा समेत कतै , कोहि यहि विभेदको सिकार नबन्लान , हिंसा नहोला भनेर ढुक्क भईहाल्ने अवस्था छैन ।

यसलाई गम्भीरतापुर्वक लिंदै नयाँ परिमार्जित कानुनको निर्माण र कार्यन्वयनको निम्ति होस्टेमा हैंसे गर्नैपर्ने बेला आएको छ । जुनसुकै प्रकारबाट पनि हुने मानवीय विभेद क्षम्य हुनै सक्दैन , यसमाथि यसकिसिमका जतिय विभेदले अझ दर्दनाक पीडा बोकेको छ ।

यसको समुल अन्त्य गरि न्याय , अधिकार र सम्मान सहितको समतामूलक समाज निर्माण गर्न ऐक्यबद्ध बनौँ । जय नेपाल !!! २०७३ / ०२ / २१

Sunday, April 17, 2016

कलाकारलाई नरुवाउँ , सम्मान गरौ

रामकुमार परियार

हिजो साँझ ७ बजे नायिका प्रियंका कार्किले एउटा स्टाटस लेखिन । "मेरो मन रुवाउनेहरुको लागि..." भनेर । त्यो पढ्दै गर्दा मन धेरै दुख्यो । जबकी एक मिनेट पढ्दैमा मेरो मन दुख्यो भने रातदिन भोग्दा उनको मन कति रोएको होला ? हामी कलाकारलाई राष्ट्रको गहना भन्छौं , गौरव भन्छौँ । तर के हामिले हाम्रो गहनालाई गर्नुपर्ने जति माया गरेका छौँ त ? राष्ट्रको गौरवलाई गर्नुपर्ने जति सम्मान दिएका छौँ त ?
अहँ छैन , बिल्कुल छैन । बरु हामी गालि दिन्छौँ , अनेक तुच्छ शब्दहरुले प्रहार गर्छौं । हामि कति चरित्रवान छौँ हगि ? जसले सिंगो नेपाली फिल्म ईडष्ट्री धानिरहेको छ उसलाई यसरी गालीको सम्मान दिन्छौँ , हामी कति निच रहेछौँ त ?

नायिका/मोडलहरुले सामान्य अंग प्रदर्शन गरेकै भरमा 'वेश्या' भन्छौं , 'भालु' भन्छौँ (यि शब्दहरु प्रयोग गर्न नचहाँदा नचहाँदै लेख्नु पर्‍यो ।) । तर नेपाली संस्कृति माथी खुलमखुल्ला प्रहार गर्दै नाङ्गो नाच देखाउने ज्योती मगर र अर्चना पनेरुलाई हेर्न मात्रै ५००० को टिकट काटेर दगुर्छौँ । यो कतिसम्म न्यायोचित होला ?

नायिका प्रियंका कार्किको उक्त स्टाटस हेरिसकेपछी उनको वालमा आएका कमेन्टहरु हेर्न मन लाग्यो । अरुबेला म उत्ति हेर्दिन थिएँ , तर हिजोको उनको क्रन्दनले मनमा जिज्ञासा उब्जाई दियो । उनका केही पछिल्ला फोटोहरुको कमेन्ट पढ्न थालेँ , यति निच र घृणित व्यक्तिहरुको टिप्पणी पाएँ कि भनी साध्य छैन । लाग्छ यिनी मुम्बईको कुनै कोठीबाट आएकी हुन । यत्ती सम्म भनेका छन् । काठमाडौमा यौन व्यवसाय गरेर बस्ने युवती झैँ सोचेर निच कमेन्टहरु गरेका छन् जंगलीहरुले । चाहे मुम्बईको कोठिमा यौन व्यवसाय गराईएकी युवती हुन या काठमाण्डौकी कर्ल गर्ल । हरेकको आफ्नो ईज्जत् हुन्छ , परिवार हुन्छ । व्यक्तिगत जीवन हुन्छ । यो कुरा बुझ्दैनन हँ मान्छेहरु ?

यहाँ त अझ कलाकारको सवाल छ , कलाकार भित्रको पनि असल कलाकारको प्रसंग छ । हुन त यहाँ कलाकारिताको नाउँमा नाङ्गो नाच देखाउनेहरुको कमि भएको भने होईन । तर २/४ जनाले त्यस्तो गरे भन्दैमा सबैलाई 'एउटै क्याटोगरी' मा राख्नु त भएन नि । के प्रियंका कार्की र ज्योती मगरलाई एउटै नजरले हेर्न मिल्छ ? लोक गायिकाको नाउँमा नेपालको पुरातन संकृतीलाई कलंकित पार्दै हिंड्ने छाडा र शालिन अभिनय गर्ने लोकप्रिय नायिका बिच कदापि तुलना हुन सक्दैन । हिरा र किरा छुट्याउन नसक्नेहरुले के सामाजिक संजाल चलाउनु र भन्या !
म प्रियंका कार्कीको एकदमै नजिकको फ्यान होईन । उनलाई व्यक्तिगत रूपमा राम्रोसँग चिनेको पनि छुईन । तर लगभग सबै चलचित्रहरु हेरेको छु । फिल्म लाईनमा आउनु अघि देखि नै उनलाई जान्दछु म । उनको ग्ल्यामरस सभ्य छ , नेपाली समाजमा पच्ने छ । नायिका भईसकेपछी त्यति ग्ल्यामरस त अपरिहार्य नै मानिन्छ । तर हाम्रो सोच कहिले परिवर्तन हुन सकेन । भन्नलाई  २१ औँ शताब्दीका आधुनिक पुस्ता भन्छौँ तर सोच कुन्नी कुन शताब्दीको मान्छेको बोकेका छौँ कुन्नी उदेक लाग्छ ।

म कलाकारलाई सम्मान गर्नैपर्छ भन्ने मान्यता राख्ने मान्छे । तर कलाकार भित्रका पनि अकलाकार चैँ छुट्याउनु पर्छ भन्ने सोच छ । किनकि पछिल्लो समय हामिकहाँ कलाकारिताको यति विकास भएको छ कि भनी साध्य छैन । जो नि मोडल , जो नि नायक , जो नि गायक , जो नि नायिका , जो नि गायिका ... तर यी सब कलाकार होईनन । कलाकार भित्रका अकलाकार हुन । यी अकलाकारको विकृत हर्कतकै कारण आज असल कलाकार यसरी सामाजिक संजालमा रुनु परेको छ । दु:ख लाग्छ । त्यसैले एउटा आग्रह कलाकारलाई सम्मान गरौँ । अकलाकारलाई कलाकार बन्न प्रेरित गरौँ । बैशाख ६ , सोमबार

Friday, April 15, 2016

मृगौला रोगी तेजबहादुर नेपालीलाई सहयोगको अपिल

बिरामी तेज बहादुर नेपालि 

रामकुमार परियार , ४ बैसाख , शनिबार  ।
मरुभूमिमा दु:ख गरि जोडेको सारा सम्पत्ती उपचारमा सक्दा पनि रोगबाट उम्कन नसकेका मोरङ ईटहराका मृगौला रोगी तेज बहादुर नेपाली 'विक्रम' ले मृगौला प्रत्यारोपणका निम्ति आर्थिक सहयोगको याचना गरेका छन् ।

दुवै मृगौला फेल भएर ९ महिनासम्म लगातार उपचार गर्दा समेत सुधार नभएपछी नेपालीसंग अहिले मृगौला प्रत्यारोपणको अन्तिम विकल्प मात्रै बाँकी रहेको छ ।

कतार र मलेसियाको मरुभूमिमा पसिना बगाएर जोडेको अलि अलि सम्पत्ती पनि यो ९ महिने उपचारकालमा सकियो । मलेसियामा रहँदा नै स्वास्थमा समस्या आएर फर्किएका नेपाली स्वदेशमै केही गर्न चाहन्थे ।

करिब एक वर्ष अघि ईटहराको सोमबारेमा टेलर पसल खोलेर व्यवसाय गर्दा गर्दै उनको स्वास्थमा अकास्मत नराम्रो असर देखियो । उपचारको निम्ति विराटनगर , धरान , दिल्ली हुँदै काठमाडौ सम्म धाए । अन्तिममा विराटनगरको गोल्डेन अस्पतालमा उनको दुवै मृगौलाले काम गर्न छोडेको पत्ता लाग्यो । र उनलाई नियमित उपचार (डायलोसिस) गर्नुपर्ने सुझाव दिईयो ।

उमेरले डाँंडा काटेकी आमा र दुई कलिला सन्तान हुर्काउँदै गरेकी श्रीमतिमाथी बज्रपात पर्‍यो । तथापि उपचार गरे छिट्टै निको हुन्छ भन्ने विश्वास र आफन्तको ढाडसले उपचार शुरु गरियो । ९ महिना लगातार उपचार (डायलोसिस) गर्दा सारा सम्पत्ती सकियो । करिब १५ लाख खर्च भयो । रोग बिसको उन्नाईस भएन । अन्तिममा अस्पतालले काठमाडौ लगेर मृगौला प्रत्यारोपण गर्नुपर्ने  बताउँदै काठमाडौ रेफर गरिदियो ।
अस्पतालको बेडमा बिरामी तेजा बहादुर नेपालि 
बैसाख २ गते उनलाई विराटनगरबाट काठमाडौ लगियो । अहिले उनको स्वास्थ स्थिति एकदमै नाजुक छ । चाँडो भन्दा चाँडो मृगौला प्रत्यारोपण गर्नुपर्ने अस्पतालले बताएको छ । जसको निम्ति अझै ८ देखि १० लाख सम्म खर्च लाग्ने अस्पतालले बताएको छ । तर यत्तीबेला नेपाली परिवारसंग फुटेको कौडी बाँकी छैन । त्यसैले उनले आफ्नो जीवन सहयोगी दाताको हातमा रहेको भन्दै सहयोगको अपिल गरेका छन् । उनकी श्रीमति गंगादेवी बर्देवा र आमा भिममाया दर्जीको आँखामा आँसु नओभाएको महिनौँ भईसक्यो । उनी अस्पतालमा थला परेदेखी नै उनिहरुको आँखामा आँसु अडिएको छैन । अवोध छोराछोरी पनि बाबा निको भएर आफुहरुलाई खेलाउने दिन कहिले आउँछ भनेर आशा गरिरहेका छन ।

अब उनको जीवन सहयोगीहरुको हातमा छ । आफ्नो छोरालाई बचाउन आमा भिममाया दर्जीले मृगौला दिने भएकी छिन । तर मृगौला दाता भेटेर मात्रै हुँदैन । प्रत्यारोपणको खर्च महंगो छ । त्यो खर्च जुटाउन नसके मृगौला प्रत्यारोपण संभव छैन । त्यसैले अहिले उनको मृगौला प्रत्यारोपणका लागि आवश्यक रकम जुटाउन पहल गरिएको छ ।

स्थानिय युवाहरु भुपाल कार्की , टेक दर्नाल , अर्जुन बर्देवा लगायतको समूह देश विदेशबाट सहयोग संकलनमा लागेको छ । ईटहराकै बुलेट गाईज क्लबले त ४ लाख ३० हजार संकलन गरेर गत बैसाख २ गते बिरामीको परिवारलाई हस्तान्तरण गरिसकेको छ ।

शुभेच्छुकहरुले फेसबुक मार्फत तेज बहादुर नेपाली बचाउ अभियान संचालन गरिरहेका छन् । उक्त अभियानको माध्यमबाट अहिले साउदी , कतार , मलेसिया , कुवेत , युएई लगायतका देशमा रहेका नेपालीहरुबाट आर्थिक सहयोग प्राप्त भईरहेको छ । यसबाट बिरामीलाई आफू बाँच्छु भन्ने आत्मविश्वास बढ्दै गएको छ ।
आमा भीममाया दर्जी संग बिरामी तेज बहादुर नेपालि 
उनलाई बैसाख ३ गते शुक्रबार काठमाडौको कान्तिपथ स्थित कान्तिपुर डायग्नोष्टिक सेन्टरमा भर्ना गरिएको छ । खर्च जुटे त्यहीँ उनको मृगौला प्रत्यारोपण हुनेछ । यसको निम्ति देश भित्र र बाहिरबाट सहयोग संकलन थालिएको छ । बिरामीको परिवारले सबैलाई सहयोग गरिदिन अपिल गरेका छन् ।

बिरामीको अवस्था बुझेर सहयोग गर्न चाहने हरुले बिरामीको श्रीमति गंगादेवी बर्देवाको संपर्क नं ००९७७-९८१७३४५५६९ र बिरामीको उपचारका निम्ति सहयोग जुटाउन कृयाशिल स्थानीय भुपाल कार्कीको संपर्क नं ००९७७-९८०१४४१४०० मा संपर्क गर्न सक्नुहुनेछ । त्यसैगरि थप जानकारी र सहयोगका लागि मलेसियामा टेक दर्नाललाई +६०११३९६७९४३२ नंबरमा र युएईमा अर्जुन बर्देवालाई +९७१५२८९३१५१७ नंबरमा संपर्क गर्न सकिनेछ ।
बैसाख ४ गतेसम्मका सहयोगीहरु :
१) गणेश कार्की - सिजुवा - रु. १०,०००
२) अर्जुन बर्देवा - सिजुवा - रु. १७,३२०
३) टेकबहादुर दर्नाल - सिजुवा - रु. ५,००१
४) विरबहादुर कार्की - सिजुवा - रु. ३,०००
५) मल्लिका कार्की - सिजुवा - रु. ७,०००
६) बेदविक्रम कार्की - सिजुवा - रु. ११,१११
७) दिपक खड्का - सिजुवा - रु. २,२२५
८) दिपक बयलकोटी - सिजुवा - रु. ५,००५
९) उत्तम राई - सिजुवा - रु. ५,००१
१०) हरिबहादुर सुन्दास - सौँठा बजार - रु. १०,०००
११) रामकुमार परियार - हसन्दह - रु. १०,०००
१२) चन्द्रबहादुर दास - सिजुवा - रु. १३,१९३
१३) प्रस्ना दास / परिना दास - ईटहरा - रु. ७,७०५
१४) नीर बहादुर कार्की - गोविन्दपुर - रु. ५,०५०

Tuesday, April 12, 2016

नयाँ वर्षको शुभकामना !!!



नयाँ वर्ष २०७३ सालको पुनित अवसरमा तपाईं लगायत तपाईंको परिवारमा सुख , शान्ति , सम्वृद्दी एवं उत्तोरत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दछु । यहाँका हरेक ईच्छा , चाहना एवं योजनाहरु सफल हुन , मुलुकमा जारी राजनीतिक अस्थिरताको अन्त्य होस , सम्पुर्ण नेपाली बिच भाईचारा , भातृत्व र स्नेहको भाव विकास होस , सम्वृद्द नेपाल निर्माणर्थ नेपालीको एकता होस , नयाँ वर्ष २०७३ ले सबैको मुहारमा खुसियाली ल्याओस । नयाँ वर्ष २०७३ सालको हार्दिक मंगलमय शुभकामना !!!
रामकुमार परियार

शुभकामना भिडियो