ads

ads
ads

विदेशमा आँखाको ज्योती गुमाएका यी दलितलाई राज्यले समेत हेप्यो


 तेजन खड्का
२१ पौष, उर्लाबारी ।
र्थिक समृद्धिको सपना बोकेर विदेश जानेहरु सफल नै हुन्छन् भन्ने ‘ग्यारेण्टी’ छैन । विदेशमा गएर आर्थिक आयआर्जन गर्न नसक्ने मात्र होइन, अंगभंग भएर आउने व्यक्तिहरु पनि समाजमा पाउन सकिन्छ । यस्तै, एक पिडीत व्यक्ति हुन्, लालबहादुर विश्वकर्मा । उनको विदेशबाट धन कमाएर ल्याउने सपना चकनाचुर भएको छ । मोरङ राजघाट -९ का लालबहादुर साउदी अरव गएर दुबै आँखाको ज्योति गुमाएर घर फर्किएका छन् । २०५७ सालदेखि बैदेशिक रोजगारमा रहेका ४७ वर्षीय विश्वकर्माले २०७० को माघ १४ गते साउदी अरवमा सवारी दुर्घटनामा परी दुबै आँखाको ज्योति गुमाएका हुन् ।
उनी पछिल्लोपटक २०६१ मा काठमाडौंको देउराली मेनपावर कम्पनीमार्फत साउदी अरब पुगेका थिए ।
लालबहादुर त्यहाँको मोहम्मद साहिल स्वरुर कम्पनीको मालबाहक ट्रकमा सवारी चालक काम गर्थे । दुर्घटना परेको दिन भने उनले आफैं गाडी चलाएका थिएनन् । ‘त्यो दिन श्रीलंकाली चालकले ट्रक चलाएका थिए’, उनी भन्छन्, ‘दुर्घटना भएको १२ दिनपछि मात्रै मेरो होस खुल्यो, त्यतिबेला मेरा दुबै आँखाको ज्योति गुमिसकेको रै’छ ।

साउदीमै २ महिना सात दिनको उपचारपछि उनी सामान्य हिँड्डुल गर्न त सक्ने भए । तर, पुनः काममा फर्किन सकेनन् । १३ वर्ष बैदेशिक रोजगारमा रहँदा उनले गाउँमै घाम, हावा र पानी छल्ने एउटा ओतसम्म हाल्न सके । उनले थपे, ‘छोराछोरीलाई नाम चलेको राम्रो वोर्डिङ स्कुल पढाएँ । छोरी ‘प्लस टु’ पढ्दैछिन, छोरो ९ मा, तर अब कमाइ छैन। अरु आम्दानीको स्रोत केही छैन।’ उनले न्यायको लागि पहल गरिदिन गुहार नमागेका भने होइनन्, कम्पनीले क्षतिपूर्ति भन्दै ८ लाख रुपैयाँ त दियो तर सबै प्रकृया मिलाएर घर फर्किने बेलामा ५ लाख रुपैयाँ मात्र हात लाग्यो ।
नेपाल फर्किएपछि पनि लालबहादुरले आँखाको ज्योतिको खोजिमा नेपाल र भारतका धेरै अस्पताल चाहारे । लगभग १ लाख रुपैयाँ खर्च पनि भयो । तर भारतको अल इण्डिया मेडिकल इन्ष्टिच्युटले ज्योति फर्काउने हैन, दृष्टिबिहीन भएको घोषणाको पत्र थमाइ दियो । लालबहादुर भन्छन्, ‘नेपाल सरकारले तोकेको सबै मापदण्ड पुरा गरेर बिदेश गएको हुँ, राज्यले मृत्यु भए वा अंगभंग भए क्षतिपूर्ति दिनु पर्ने हो ।’ धेरै पटक पहल गर्दा पनि कसैले आफ्नो आवाज नसुनेको उनी गुनासो गर्छन् । ‘आफू आँखा देख्दिनँ, छोरा-छोरी सानै छन्, कसले मेरो पक्षमा बोलिदिने ?’ लालबहादुरले भावुक हुँदै आफ्नो पिडा सुनाए । उता, पिपुल फोरमका प्रमुख सोम लुँइटेल श्रम स्वीकृतिको अवधिभित्रै दुर्घटना भएको प्रयाप्त प्रमाण भए क्षतिपूर्ति दिलाई दिने दाबी गर्छन्। ‘सम्पूर्ण प्रमाण भए नेपाल सरकारबाट पाउने क्षतिपूर्ति सजिलै पाइन्छ’, लुँइटेलले भने । पिपुल फोरम बैदेशिक रोजगारका क्रममा अंगभंग भएका तथा मृत्यु भएका परिवारलाई कानूनी उपचार दिने गैरसरकारी संस्था हो  । (पुर्वेली टाईम्स बाट)
Powered by Blogger.