ads

ads
ads

आफ्नै कथा (संस्मरण)

कुरो २०६१ साल तिरको हुँदो हो । त्यतिबेला म कक्षा ९ मा पढ्दै थिए । माओवादी (तत्कालीन आतंककारी ) को क्रान्ति र आन्दोलन चरम उत्कर्षमा थियो । अपहरण, चन्दा आतंक, हत्या , बलात्कारले सीमा नाघेको थियो । विद्यार्थीलाई जबर्जस्ती अपहरण गरेर माओवादी सेनामा भर्ती गर्ने जस्ता हल्ला पनि सुनिँदै थियो। ठिक त्यतिबेलै माओवादीको विद्यार्थी संगठन (क्रान्तिकारी) पनि निकै सक्रिय थियो ।
क्रान्तिकारीका नेताहरू विद्यालयहरुमा जाने, आउने कुराहरु सुनिँदै थियो । तर हाम्रो विद्यालयसम्म आइपुगेका थिएनन् । अफसोस, त्यो दिन पनि आईपुग्यो । ६/७ जना व्यक्तिहरूको एउटा समूह झोला, रेडियो र खाता पाता बोकेर हाम्रो विद्यालयमा आइपुग्यो । त्यो समूहको नेतृत्व आफुलाई क्रान्तिकारी विद्यार्थीको मोरङ इन्चार्ज बताउने रन्जन शर्माले गरेका थिए। उनीहरूले
विद्यालय प्रशासनसँग अफिसमा एकछिन कुन्नी के के कुरा गरेर सरासर ९ र १० कक्षा कोठामा प्रवेश गरे । अनि आधा घन्टाजति गतिलो भाषण गरे । राजनीतिमा उत्ति चासो बढी नसकेकाले मैले खासै वुझिनँ र बुझ्ने चेष्टा पनि गरिनँ । भाषण सकिएपछि कुन्नी के समिति बनाएर सल्लाह गर्नुपर्ने भन्दै दुवै कक्षाका गरी १०/११ जना विद्यार्थी उनीहरुसँगै अलि पर गोप्य ठाउँमा जानुपर्ने भयो । कक्षाको अलि अब्बल विद्यार्थी भएकाले मैले त अनिवार्य जानु नै पर्ने अवस्था आयो, भनौं एउटा बाध्यता । निकै डर पनि थियो मनमा, त्यसैले लाग्यौं हामी पछि पछि । अलि पर, विद्यालयपछाडि एकजना शिक्षकको घर थियो । सरासर त्यहीँ गयौं । कहिले भित्र नपसेको घरमा सिधै पसियो अनि अलि भित्रको गोप्य कोठामा जम्मा भयौं । निकैबेर पार्टीको कुरा सुनाए, आन्दोलनका कुरा सुनाए, बुझाए । दिमागमा त्यति नपसे पनि बुझ्यौं भनेर टाउको हल्लाउनु बाध्यता थियो । रिपोर्टिङ गर्न सिकाए, जुन मेरो निम्ति पहिलो राजनीतिक भाषण थियो । एउटा समिति बनाए जसमा मलाई सचिव राखे । किन मलाई नै सचिव बनाइयो, अहिलेसम्म ठ्याक्कै बुझ्न सकेको छुइनँ । त्यसपछि एउटा खाता र केही सदस्यता रसिद थमाएर उनीहरू कता बिलाए पत्तै पाइएन ।
नियमित सम्पर्कमा रहिरहने उनीहरुको शर्त थियो । अब भने मेरो डरको सीमा झन बढ्यो । बाटो छेवैमा घर, उसमाथि आँगनैबाट एक किलोमिटर लामो सुरक्षाकर्मीको लस्कर दिनहुँप्रायः ओहोरदोहोर गरिरहने । अनि आफुले चै खातापाता र रसिद राख्नुपर्ने, अझ सदस्यता रसिद नै वितरण गर्नु पर्ने ! हे भगवान !!!
यद्यपि कटेरोतिर लाग्नै पर्ने, डर हुँदाहुँदै पनि जबर्जस्ति मनलाई नियन्त्रण गरेर घरतिर बाटो लागें । विद्यालय पोसाकमा भएकोले सुरक्षाकर्मीले भेटि हाले पनि सोधपुछ गर्दैनन् भन्ने विश्वास थियो मलाई । घर पुग्नासाथ सम्पूर्ण कुरा आमालाई बेलिबिस्तार लगाएँ । वहाँले यस्तो बेला त्यस्तोमा वस्नु हुँदैन, खतरा हुन्छ त्यसैले तुरुन्तै सबै खातापाता फिर्ता दिएस् नत्र फालेस् भन्नुभयो । तर त्यो सम्भव थिएन त्यसैले फालिदिएँ भनेर झुट बोल्न कर लाग्यो । मैले ती कागजात घर भित्रै लुकाएर राखेको थिएँ । निकै दिन बिते, हप्ता बिते ती कागजातको काम आएन, मैले नै गर्न चाहिनँ किनकि मलाई त्यस्तो काममा रुचि नै थिएन । अन्ततः एक महिनापछि मैले ती सम्पुर्ण कागजात घर नजिकै खाडल खनेर पुरिदिएँ ।
मलाई याद छ अझैपनि भाषणका बेला ती नेताहरुले भनेका केही वाक्यहरु “हामी सर्वहारा वर्गको मुक्तिका खातिर क्रान्तिमा होमिएका हौं । हामी बुर्जुवा शिक्षा प्रणाली खारेज गर्छौं । नेताका छोराछोरीलाई विदेशमा पढाउन दिदैनौं । हामी गोलमेच सम्मेलनमा जान्छौं । संविधानसभाबाटै संविधान बनाइनु पर्छ, आदि।” तर खै आज ती भनाईहरु कार्यन्वयन गरे त ? बरु उल्टै आफ्नै छोराछोरी विदेशका महँगा विश्वविद्यालयहरुमा पढाएका छ्न् । महल तलाहरु थपिँदैछ्न् । अझ अहिले त संविधानसभा नै भङ्ग गर्नुपर्छ भन्दै चक्काजाम, नेपाल बन्द, आन्दोलनमा उत्रिएका छ्न् !!! उफ यो कस्तो राजनीति हो ? कस्तो विडम्बना !!!
Powered by Blogger.