आज माघे सङ्क्राती पर्व,धुमधाम संग मनाईदै !!!

१५ जनवरी,यु.ए.ई । आज माघ १ गते,अर्थात माघे सङ्क्रान्ति जसलाई मकर संक्रान्ती पनि भन्ने गरिन्छ । आजको दिनको नेपाली समुदायमा विशेष महत्व रहेको छ । यो पर्व पवित्र जलाशय , नदी, तथा त्रिवेणीमा स्नान र  पूजापाठ गरि घिउ,चाकु, तिलको लड्डु र तरुल खाएर मनाइँदैछ । आजकै दिन पुर्वको पवित्र तिर्थस्थल कन्काई माईमा विशेष मेला लाग्दैछ । जसमा छिमेकी भारत सहितका लाखौ भक्तजन सहभागी हुदैछन ।
ज्योतिष शास्त्रअनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले आजदेखि दिन लामो हुने र रात छोटो हुँदै जान्छ ।
‘भविष्यपुराण’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा आजका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र आगो ताप्ने मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोसिलो हुनाका साथै निरोगी भइने  उल्लेख छ ।
लड्डु तथा घिउचाकु सङ्क्रान्ति पनि भनिने यस पर्वलाई नेवारी भाषामा ‘घ्यः चाकु सन्हु’ तथा नेपालीमा ‘मकर सङ्क्रान्ति’ पनि भन्ने गरिन्छ ।  यस पर्वमा नेपालको शङ्खमूल, देवघाट, वराहक्षेत्र, पनौती, दोलालघाट र  कन्काई तथा भारतका प्रयाग र गङ्गासागरलगायत नदी तथा त्रिवेणीमा स्नान, दान, श्राद्धलगायत कार्य गर्नेहरूको ठूलो भिड लाग्छ ।  नेपालको रुरु रिडी क्षेत्रमा आजदेखि तीनदिन सम्म धुमधामका साथ मकर मेला लाग्ने गर्छ  ।

आयुर्वेद र चिकित्साशास्त्रमा पनि यो दिन खाइने परम्परागत खाद्य पदार्थले हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेट र क्याल्सियमलगायत तत्व प्राप्त हुने र तिनले सम्भावित रोगसँग लड्ने क्षमता प्रदान गर्ने तथा शरीरमा भएका विकारलाई बाहिर पठाउने उल्लेख गरिएको छ ।
शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु, तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढी तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।
 यसै दिन भक्तपुरको टौमढी टोलमा तिलमाधवनारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा गर्ने गरिन्छ । थारु समुदायमा यो पर्व ‘माघी’ पर्वका रूपमा धुमधामका साथ मनाइन्छ । आजको दिन यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने र पाँच दिनसम्म मनाउने चलन छ ।
   नेवार समुदायले ‘घ्यः चाकु सन्हु’ आज मनाउँदैछन् । माघे सङ्क्रान्तिका दिन नेवार समुदायले बिहान सबेरै नित्य पूजापछि विभिन्न देवदेवीलाई घिउ, चाकु, साकसला र  काँचो तरुल राखेर चढाउने चलन छ ।
 त्यस्तै पितृलाई पनि घिउ र चाकु दिने गरिन्छ । देवदेवीको पूजापछि आफूभन्दा ठूला मान्यजनबाट ज्वानो राखेर तताइएको तोरीको तेल टाउकामा लगाइदिने गरिन्छ ।
 जाडो समयमा खाने तेल टाउकामा राखेर घिउ, चाकु, चिउरा, तरुल जस्ता पोसिलो वस्तु खाँदा शरीर तातो भई ऊर्जा पैदा हुने जनविश्वास छ ।
Powered by Blogger.