राज्यले बिर्सेको एक देश भक्त-प्रथम सहिद लखन थापा(मगर)

जहानियाँ राणाशासन विरुद्ध पहिलोचोटी जनस्तरबाट संगठित विद्रोह गर्ने व्यक्ति थिए लखन थापामगर । वि.सं. १८९१ मा गोरखाको बुङकोट काहुलेमा लखन थापामगर जन्मिएका थिए । बीस वर्षे उमेरमा लखन थापा पुरानो गोरख गण पल्टनमा भर्ती भए । पृथ्वीनारायण शाहले जातीय आधारमा खोलेका चार पल्टनमध्ये यो एक थियो । जसमा मगरहरुलाई मात्र भर्ती लिइन्थ्यो । लखन थापा भर्ती हुनु अगावै वि.सं. १९०३ मा जंगबहादुर राणाले शासन हत्याइसकेका थिए । भर्ती भएपछि थापाले शासन प्रणाली बुझ्दै गए । सन् १८५७ मा भारतीय सैनिकहरुले बेलायत अधीनस्त इष्ट इण्डिया कम्पनीविरुद्ध गरेको सैनिक विप्लव दबाउन जंगबहादुरले पठाएको सैनिक टोलीमा लखन थापा पनि सामेल थिए । डा. हर्षहादुर बुडाका अनुसार त्यहीँबाट लखन थापामा राणा विरोधी र जनपक्षीय विचार निर्माण भएको थियो ।

कप्तान पदसम्म पुगेका लखन थापाले वि.सं. १९२७ मा जंगबहादुर विरुद्ध विद्रोह छेड्ने निस्कर्ष निकाल्दै सेनाबाट विदा लिए । सहकर्मी जयसिंह चुमीमगरको सहयोगमा उनले गोरखाको बुङकोट काउलेमा संगठन निर्माण गरे । हुकुमको जवाफ छैन कालको औषधी छैन भनिने जंगबहादुरको कठोर शासनकालमा लखन थापाले करिब दुइहजार युवा संगठित गरी धेरथोर हतियार पनि जम्मा गरेको इतिकासकार प्रमोदशमसेर राणाले गोरखा विद्रोहमा लेखेका छन् । शिवलाल थापामगरले ओझेलमा परेका मगरहरु पुस्तकमा लखन थापाले काउलेमा जनश्रमदानबाट दरबार बनाएको र गोरखामा समानान्तर शासनको अभ्यास समेत गरेको उल्लेख गरेका छन् । यस्तैमा एकदिन उनले जंगबहादुरका विरुद्ध योजना बनाएका कागजातहरु उनको दरबारबाट चोरी भयो र जंगबहादुरसम्म पुग्यो ।

जंगबहादुरले आफ्नो विरुद्ध गतिविधि गरेको थाहा पाउनासाथ कान्छा भाइ धीर शमसेरको नेतृत्वमा देवीदत्त गणको सैन्यटोली गोरखा पठाए । 

लखन थापा र उनका सहयोगीहरु पक्राउ परे । उनीहरुलाई थापाथली ल्याइयो । जंगबहादुरले लखन थापा र उनका सहयोगीहरुलाई मनकामना मन्दिर अगाडि झुण्ड्याएर मार्न आदेश दिए । आदेश तामेल गर्दै वि.सं १९३३ फागुन २ गते उनलाई रुखमा झुण्ड्याएर मारियो । अध्येता उमेश रानाका अनुसार उनीसहित अन्य जयसिंह चुमीलाई पनि रुखमा झुण्ड्याइयो भने चार जनालाई गोली हानेर मारियो । दुइ ब्राम्हणलाई भने मृत्युदण्ड दिइएन ।

वि.सं. २००७ मा प्रजातन्त्र स्थापनापछि राणा शासनको उत्तर्रार्द्धमा मारिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मात्र शहीद घोषणा गरियो । लखन थापा जसले जहानियाँ शासनको जग बसाल्ने जंगबहादुरकै विरुद्ध विद्रोह गरे र मारिए उनलाई भने शहीद घोषणा गरिएन । निरन्तरको जनदबाबपछि बल्लबल्ल २०५६ मा मन्त्रिपरिषद्ले लखन थापालाई शहीद त घोषणा गर्यो तर प्रथम शहीद भन्न सकेन ।

जब लखन थापामगरलाई प्रथम शहीद घोषणा गर्न दबाब बढ्छ लखन थापामगर थिए थिएनन् – उनले विद्रोह गरेका हुन् होइनन् – शहादत प्राप्त गरेका हुन होइनन् – प्रश्नहरुको पर्रा उठाइन्छन् । लखन थापाका बारेमा किंवदन्ती होइन ऐतिहासिक प्रमाणहरु प्रशस्त छन् । इतिहासकारहरुले उनका बारेमा काफी कलम चलाएका छन् । उनको दरबारको भग्नावशेष अझै छ । उनका सन्तति अझै जीवित छन् । त्यसकारण लखन थापा थिए, थिएनन् भन्ने प्रश्न निर्रथक हो । खोज्ने हो भने आधार अझै बाक्लै छन् । करिब डेढसय वर्ष पुरानो कुरा न हो । आखिर पौराणिक आधारमा त हामीले जनकलाई राष्टिय विभूति र सीतालाई राष्ट्रिय गौरव स्वीकार्दै आएका छौँ भने लखन थापालाई त प्रथम शहीद मान्ने थुप्रो प्रमाण छन् ।

सरकारले कि प्रथम शहीद अर्कै छन् भन्ने प्रमाण पेश गर्न सक्नुपर्यो होइन भने अहिलेसम्मको प्रमाणको आधारमा लखन थापामगरलाई प्रथम शहीद घोषणा गर्नुपर्यो । यदि सरकारलाई शंका लाग्छ भने इतिहासकारहरु सम्मिलित अध्ययन टोली बनाएर थप खोजी गरोस् तर राणा शासनदेखि गणतन्त्रान्त्रिक शासनसम्ममा पनि शहीदलाई सम्मान दिन नसक्ने प्रवृत्तिको तुरुन्त अन्त्य गरियोस् । घरको कौसीमा जुम्रा हेर्दाहेर्दै बितेका, आपराधिक क्रियाकलापमा संलग्न भएकाहरुले यहाँ शहीदको सम्मान पाएका छन् । राज्यले उनीहरुको परिवारलाई १०/१० लाख सहयोग गरेको छ तर प्रथम शहीदले न सम्मान पाएका छन् न त सहयोग नै ।

Powered by Blogger.