ads

ads
ads

गुरु दक्षिणा (प्रेरक प्रसङ्ग )



एकपटकको कुरा हो कुनै एउटा गुरुकुलमा तीनजना शिष्यहरू आफ्नो अध्ययन पूर्ण गर्नासाथ गुरुका सामु उभिएर आफूहरूले घर जाने अनुमति चाहेको र गुरुको आज्ञा बमोजिम गुरुदक्षिणा समर्पण गर्नलागेको बताए । तिनका कुरा सुनेर सुरुमा त गुरु स्नेहपूर्वक भन्नुभयो -‘ममा शिक्षा प्रदान गरेवापत सम्पत्ति जोड्ने लालसा त छैन तर अब तिमीहरू दिनै चाहन्छौ भने आश्रममा एकएक बोरा पतकर थुपार अनि मसँग विदा लिइ घर जाओ ।

सुरुमा त तीनैजना गुरुबाट खासै ठूलो आकाङ्क्षा नराखिएकाले प्रसन्न भए, अनि एकएकवटा बोरा च्यापेर जङ्गलतर्फ लागे । उनीहरूलाई वनमा जताजतै मिल्किएको पतकर साँझसम्म सजिलै जुट्छ र लामो अनुशासनमय गुरुकुलबाट छुटकारा मिल्छ भन्ने लागेको थियो र ती हतारिएर बाहिरिएका थिए । ती तीनैजना शिष्य हिंड्दै जाँदा नजिकैको जङ्गलमा पुगे । त्यहाँ पुग्दा त समस्त वन सिनिक्क बढारे झैं साफसुथरा देखेर ती छक्क परे । तिनीहरू जति सजिलै पातपतिङ्गर जम्मा पार्न सकिन्छ भन्ने उत्साहका साथ वनमा पुगेका थिए, त्यहाँको दृश्य देख्नासाथ ती शोकमग्न भए । 

जङ्गलमा भएका यत्तिका पातपतिङ्गर जम्मा पारेर कसले लग्यो होला शोचमग्न भए । यत्तिकैमा तिनले टाढाबाट आउँदै गरेको एउटा गोठालो देखे, झटपट त्यसका नजिकै पुगेर विनम्रतापूर्वक याचना गर्न थाले । हामी गुरुको आज्ञा पूर्ण गर्न एकएक बोरा पतकर बटुल्न आएका थियौं, तर यहाँ केही पनि भेटेनौं बल्लबल्ल केही मुठी जम्मा पारेका छौं, सक्नुहुन्छ भने हाम्रो थैलोमा भरिने गरी केही सुकेका पातपतिङ्गर पाइने स्थान कहाँ होला बताइदिनु हवस् न । त्यस गोठालोले विद्यार्थीका त्यस्ता कुरा सुनेपछि आँफूसँग भएको पतकर इन्धनका रूपमा उपयोग गरिसकेको हुँदा उपलब्ध गराउन नसकेकोमा क्षमायाचना गर्दै गाउँतर्फ जान अनुरोध गर्यो र भन्यो तपाइँहरू नजिकै रहेको हाम्रो गाउँमा गएर खोजी गर्नसक्नुहुन्छ, त्यहाँका मानिस केही दिनअघि पतकर बटुल्न यहाँ आएका थिए, हुनसक्छ तिनले तपाइँहरूको मद्दत गर्नेछन् ।

आशाको झिनो त्यान्द्रो पलाएकाले ती तीनैजना नजिकैको गाउँमा गए । त्यहाँ तिनीहरू एउटा ब्यापारीको घरमा पुगे, जो पातपतिङ्गर बटुलेर शहर पठाउने काम गर्थ्यो । तिनले ब्यापारीसित पतिङ्गर किन्न पाइन्छ कि भनी सोधे । तर उनीहरूले फेरि पनि निराश हुनुपर्यो । त्यस ब्यापारीले आँफूले बढी फाइदा हुने उद्देश्यले भर्खरै सुकेका पातपतिङ्गर बटुलेर शहर निर्यात गरिसकेको थियो ।

तर उसले उदारता देखाउँदै पातपतिङ्गर जम्मा पार्ने एकजना बुढीआमैको ठेगाना चाहिँ बताइदियो ।तर त्यहाँ पनि भाग्यले ती चेलाहरूलाई साथ दिएन । ती बुढीआमै पातपतिङ्गर बटुलेर तिनको गुणदोष पहिचान गरी गुणकारी पत्ताबाट आैषधी र काम नलाग्ने पातलाई कुहाएर मल बनाउने गर्थिन् । उनले आँफूले बटुलेका पातपतिङ्गर प्रयोग गरिसकेकी थिइन् । साँझ पर्यो । अब निराश भएर शिर निहुर्याउँदै ती आश्रममा फर्किए । गुरुले देख्नासाथ स्नेहपूर्वक सोध्नुभयो - ‘बाबुहरू, जम्मा पार्यौ त गुरुदक्षिणा?’ तीनैजना लाजले नतमस्तक भए ।

गुरुले फेरि सोध्दा तीमध्ये एउटाले भन्यो - ‘गुरुदेव, हामीले वर्तमान मौसममा हजुरको इच्छा पूर्ण गर्न सकेनौं । हामी त गुरुको आज्ञालाई सजिलै पूरा गर्नेन्छौं भन्ने ठान्थ्यौं तर त्यो अहिले सम्भव रहेनछ भन्ने आज दिनभरि भौंतारिएपछि चाल पायौं । त्यसपछि मुस्कुराउँदै गुरुले प्रेमपूर्वक भन्नुभयो-‘तिमीहरूले निराश हुनु पर्दैन, तिमीहरू सुकेका पात खोज्न जङ्गलजङ्गलमा भौंतारियौ । हेर मैले जीवनभरि त्यही 'शुष्कपात' त बाँडेको छु, मैले दिएको ज्ञान नै त्यो 'शुष्कपत्र' हो, जुन तिमीहरूको अन्तर्मनमा जङ्गलमा बेकामे पतकर छरिए झैं यत्रतत्र छरिएको छ ।

गोठालो, ब्यापारी र बृद्धाले उपयोग गरे झैं तिमीहरूले त्यसको सही उपयोग गर्यौ भने मैले सच्चा गुरुदक्षिणा प्राप्त गरेको ठहरिन्छ । तिमीहरूबाट मैले चाहेको सम्पत्ति नै त्यही हो । ज्ञानरूपी शुष्कपत्र कहिल्यै पनि व्यर्थ हुँदैन भनेर अन्तिम सत्य बताउन आज मैले जानीजानी शिशिर ऋतुमा अभाव हुने सुकेका पातपतिङ्गर ल्याउन अह्राएको हुँ । गुरुको आशय बुझेपछि तीनैजना चेलाको दिव्यज्ञान प्रकाशित भयो र भोलिपल्ट ती आआफ्ना गन्तव्यतर्फ लागे ।

त्यसैले कुनै पनि चिजबीज र वस्तु निरर्थक एवं बेकामे हुँदैन, झन् कुनै व्यक्तिको जीवन र उसका अनुभव त ज्ञानको भण्डार नै हो । आँफूसँग केही छैन होइन, जे सिकेको र जानेको छ, त्यसलाई प्रयोग र उपयोग गरेर हामीले जीवनलाई आनन्ददायी र सुखमय बनाउन सक्ने रहेंछौं भन्ने प्रेरणादायी सन्देश गुरुचेलाको यस वृत्तान्तबाट प्राप्त गर्न सकिन्छ । हामीले मन, वचन र कर्मलाई सदुपयोग गर्ने सङ्कल्प लिएर यस कथालाई मनन गर्यौं भने हाम्रो जीवनलाई पनि एउटा  सफल  र उन्नत ‘जीवन’का रूपमा परिणत तुल्याउन गाह्रो पर्दैन ।
Powered by Blogger.