ads

ads
ads

नेपाली दलित आन्दोलनको ईतिहास र अहिलेको आवश्यकता

मानव समाजमा कसैलाई होच्याएर मूल्याङ्कन गर्दा पशुको उपमा दिइने गरिन्छ । तर 'दलित' समुदायका मान्छेलाई पशुको भन्दा तल्लो व्यवहार गरिंदा पनि उनीहरु यो समाजमा बाँचीरहन विवश रहेको छ्न ।
एउटा मान्छेले अर्को मान्छेलाई छोएमा जात जाने यो प्रचलन नेपाल र भारतका हिन्दु समुदाय बाहेक अन्यत्र रहेको पाइदैन । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका प्रत्येक गाविसमा छरिएर रहेका लगभग ५०/६० लाख दलित समुदायले यो अपमानपूर्ण व्यवहार सदियौंदेखि सहँदै आएका छन् ।
१४ औं शताब्दी अघि नेपालमा वर्णाश्रमको व्यवस्था रहेको पाइदैन ।
त्यसबेला यहाँका आदिवासी/जनजातिहरुमा यस्तो प्रचलन थिएन । तर त्यसपछिका समयमा आर्यहरु नेपाल भित्रिदै गएको र आफ्नो राज्यव्यवस्था कायम गर्दै लगेपछि छुवाछुत र तल्लो-उपल्लो जातको भेदभावहरु कायम भएको र हालसम्म रहँदै आएको देखिन्छ ।
यसरी भारतमा हुर्किएर आफ्नो साम्राज्यको विकास गर्दै आएको हिन्दु आर्यहरुको वर्णाश्रम -(ब्राहृमण, क्षेत्री, वैश्य र शुद्र) को व्यवस्थाले १४ औं शताब्दीदेखि नेपालमा जरा गाड्यो र यहाँका जनजाति आदिवासीहरुको अचेतन अवस्थाबाट फाइदा उठाएर मौलाउन सफल भयो । सम्पूर्ण रुपले अवैज्ञानिक यो वणर्ाश्रम व्यवस्था नै दलित समुदायको उत्पत्तिको एकमात्र कारण हो ।
मनुस्मृति र अन्य आर्य शास्त्रहरुमा भेदभावको हिसाबले दलित समुदायलाई सबैभन्दा तल्लोस्तरमा राखिएको छ र उपल्लो तीन वर्ग -ब्राहृमण, क्षेत्री र वैश्य)को दासको रुपमा व्याख्या गरिएको छ । त्यसबेलाका 'विद्वान'हरुले 'दलितको कार्य उपल्लो वर्गको दास भएर बस्ने र उनीहरुको जुठो-पुरो खाएर बाँच्ने' भनी किटान गरेका छन् । यसरी सदियौंदेखि समाजमा सेवाकार्य गर्नेहरुलाई उनीहरुको श्रमको कदर गर्नुको सट्टा अथवा उनीहरुले यो समाजमा गरेका अमूल्य योगदानको सम्मान गर्नुको सट्टा समाजको 'उपल्लो वर्ग'ले उल्टो अपमान गरेको देखिन्छ ।
नेपालको इतिहासमा अपमानित जीवन जिउन बाध्य यो समुदायबाट बेला-बेलामा विरोधका स्वरहरु नउठेका भने होइनन् तर त्यसलाई सामन्ती शासन व्यवस्थाका नाइकेहरुले यो वा त्यो तरिकाले दबाउँदै लगेको इतिहासले देखाउँछ ।
१०४ वर्षे राणाकालमा दलित उत्पीडन लगायत सबैखाले उत्पीडनका विरुद्धको आन्दोलनले टाउको उठाउने स्थिति थिएन जसले गर्दा दलित आन्दोलनको उठान हुने कुरै भएन । राणाशासनको अन्त्यपछि जनताले जब अलि खुल्ला रुपमा बोल्ने, लेख्ने अवसर पाए तब दलित वर्गका केही मान्छेहरुले पनि लेख्ने, बोल्ने र केही कुरा बुझ्ने मौका पाउने अवस्था सिर्जना भयो । तबमात्र संगठित हुने, संघर्ष गर्ने कुरा हुन थाले ।
हुन त राणाकालमा पनि दलित उत्पीडनका विरुद्ध बाग्लुङका भगत सर्वजीत विश्वकर्मा, पाल्पाका रिपलाल विश्वकर्मा, तेहं्रथुमका गोपाल लमजेल, इलामका कालीबहादुर सुन्दास साथै हिक्मत सिंह विश्वकर्मा, गंगाबहादुर परियार, मनवीर विश्वकर्मा, गोथी बसेल आदिले चासो देखाएको पाइन्छ तर संगठित रुपमा अगाडि बढेको देखिदैन ।
बाग्लुङका भगत सर्वजीत विश्वकर्माको पहलमा वि.सं.२००४ सालमा 'विश्व सर्वजन संघ' र काठमाडौंका सहर्षनाथ कपालीको संयोजकत्वमा २००४ सालमा 'टेलर यूनियन' खोलिएको भएपनि समग्र दलित उत्पीडनका लागि संगठन र संघर्षको सुरुआत हुन सकेन ।
२०११ सालमा पशुपतिनाथ मन्दिर प्रवेशका लागि 'पशुपति संघर्ष समिति'को निर्माण भयो र सहर्षनाथ कपाली एवं गणेश योगीको नेतृत्वमा हज्जारौं दलितहरु मिलेर मन्दिर प्रवेश गर्न खोज्दा तात्कालिन गृहमन्त्री टंकप्रसाद आचार्यको निर्देशनमा प्रहरीले लाठीचार्ज गर्यो साथै ७५० जना गिरफ्तारीमा परे । त्यो घटनापछि तात्कालीन सरकार पशुपतिनाथ मन्दिरको ढोकाबाट 'अछुतलाई प्रवेश निषेध' लेखेको बोर्ड हटाउन बाध्य भएको थियो ।
त्यसपछि नेपालमा पञ्चायती व्यवस्था लागू भयो । पञ्चायतकालमै शिक्षामन्त्री रहेका हिरालाल विश्वकर्मा सहभोजका कार्यक्रमहरु गर्दै हिंडे । आफ्नो छोरीको विवाहमा राजालाई निमन्त्रणा गरे र राजाले उनको निमन्त्रणा स्वीकार गरी भान्सामा बसेर खाइदिएपछि हिरालाल विश्वकर्माले 'अब जातपात फुक्यो' भनेर घोषणा समेत गरे । तर त्यस्ता घोषणाले दलितहरुको जीवनमा कुनै परिवर्तन ल्याउने कुरै भएन । २०४४ सालमा मेघबहादुर विश्वकर्माको अध्यक्षतामा 'जातिभेद उन्मुलन मञ्च' को गठन भयो । यस संगठनले केही क्रान्तिकारी कार्यक्रमहरु अगाडि सार्ने नाममा मोटो रकम चन्दा संकलन गर्ने कार्य गर्यो र पछि संगठनै बेपत्ता भयो । यसरी दलित मुक्तिका नाममा केही संघ/संस्थाहरु खुले र बन्द भए तर दलितहरुको समस्या पञ्चायती व्यवस्थामा झन दयनीय बन्दै गयो ।
'बहुदलीय व्यवस्था नआएसम्म जातीय भेदभाव हट्न सक्दैन' भन्ने केही दलितहरुको मनमा थियो । त्यसैले दलित आन्दोलनलाई पञ्चायत विरोधी आन्दोलनसंग जोड्नुपर्छ भन्ने मान्यताका साथ २०४५ सालमा गोल्छे सार्कीको अध्यक्षतामा काठमाडौंको सचेत दलितहरुको पहलमा 'उत्पीडित जाति उत्थान मञ्च'को स्थापना भयो । यो संगठनले पञ्चायत विरोधी भूमिगत पार्टीहरुसंग सहभागिता देखायो र २०४६ को जनआन्दोलनमा समेत भाग लियो । तर बहुदलीय व्यवस्था आएपछि पनि दलितहरुले समानताको व्यवहार पाउन सकेनन् । नियम कानूनमा त 'छुवाछुत वर्जित छ' भनिएको थियो तर व्यवहारमा खुलेआम भेदभाव भइरहेको अवस्था थियो । दलितको नाममा राजनीति गर्ने केही दलित नेताहरु सांसद भए, दलित हकहितका निम्ति थुप्रै संघ/संस्थाहरु खुले तर दलित समुदायको अवस्थामा खासै परिवर्तन भएको अनुभूति गर्न सकिएन ।
२०५२ साल फागुन १ गतेबाट तत्कालिन नेकपा-माओवादी)को नेतृत्वमा नेपाली जनताले सशस्त्र विद्रोहको शंखघोष गरे । जनयुद्ध भनेको जनताका सबैखाले उत्पीडनबाट मुक्तिका लागि जनताद्वारा गरिेने युद्ध हो । त्यसैले यसलाई सम्पूर्ण युद्ध पनि भनियो । यो सम्पूर्ण युद्ध भित्र दलित उत्पीडनको मुक्ति युद्ध पनि स्वतः पर्न गयो । त्यसैले 'वर्ग विभाजित समाजमा वर्गीय मुक्ति बिना जातीय मुक्ति सम्भव छैन' भन्दै दलितहरुको वास्तविक मुक्ति चाहनेहरु बेहिचकिचाहट युद्धमा होमिए । जनयुद्धमा दलित समुदायको उल्लेख्य सहभागिता रहेको तथ्यले पनि 'जनयुद्धले सबैभन्दा तल्लो समुदायलाई छुन सकेको रहेछ' भन्ने प्रमाणित गर्यो ।
जनताको वीर छोराछोरीहरुको त्यही १२ वर्षको बलिदान र १९ दिने जनआन्दोलनको कारणबाट नेपाल अहिले गणतन्त्र नेपालमा परिणत भएको छ । सामन्तवादको नाइके ज्ञानेन्द्र श्रीपेच र राजदण्ड जनताको प्रतिनिधिलाई सुम्पेर सामान्य नागरिक बनी दरबारबाट निस्कन बाध्य भए । तर सामन्तवादका अवशेषहरु हाम्रो समाजमा अझै बाँकी नै रहेका छन् । भलै नै त्यसको रुप फेरिएको छ तर ती अवशेषहरु हामी बीचमै छन् र जबसम्म सामन्तवादको थोरै अंश पनि बाँकी रहन्छ तबसम्म जनताले पूर्ण मुक्ति पाउन सक्दैनन् अझ त्यसमा पनि दलित समुदाय त झन् मुक्त हुन सक्दैनन् । त्यसैले ती बाँकी रहेका अवशेषहरुलाई जरैदेखि निर्मूल पार्नु अबको प्रमुख आवश्यकता हो ।
दलितहरुको वास्तविक मुक्ति भनेको राज्यसत्तामा सहभागिता अथवा राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रमा गाउँदेखि केन्द्रसम्म सहभागिता हुनु हो । त्यसका लागि दलित समुदायले पनि आफूलाई 'दलित' भन्ने हिन भावना त्यागेर, 'यो देशको म पनि एउटा जिम्मेवार नागरिक हुँ' भन्ने कर्तव्यबोधका साथ अगाडि आउन जरुरी देखिन्छ । साथै अब बन्ने नयाँ संविधानले पनि छुवाछुतलाई मानवता विरुद्धको सबैभन्दा ठूलो अपराधको रुपमा लिदै दबिएर, थिचिएर सामाजिक रुपमा ज्यादै पछि परेको दलित समुदायलाई समाजको हरेक क्षेत्रमा काँधमा काँध मिलाएर हिड्ने अवस्था सिर्जना गर्न विशेष व्यवस्था गर्नुपर्ने देखिन्छ ।
            (साझा संस्कृतिको सहयोगमा )
                         
Powered by Blogger.