ads

ads
ads

पिडैपिडामा तेह्रथुमको एक दलित परिवार

प्रकाश धौलाकोटी
२१ पुस, तेह्रथुम । हमरजुङ गाविसकी कमला रोक्का (सार्की) दाम्लोमा बाँधिएको वर्षौं भयो । उनले जन्माएको छोरो ९ वर्ष पुगिसकेको छ । तर, अहिलेसम्म बाबु को हो थाहा छैन ।
तेह्रथुमको हमरजुङ गाविस ४ निवासी इन्द्रमाया रोक्काले छोरी कमलालाई दाम्लोले बाँधेर राखेको २८ वर्ष भैसकेको बताउँछिन् । कमला अहिले ३२ वर्षकी भइन् । तीन वर्षदेखि नै उनले क्रमशः पूरै मानसिक सन्तुलन गुमाइन् । उमेर बढेसँगै उनले अनौठा क्रियाकलाप गर्न थालिन् । दलित समुदायकी गृहिणी इन्द्रमायाले गरिबीका कारण परिवार चलाउन कमलालाई तीन वर्षदेखि नै घरमा डोरीले बाँधेर एक्लै छाडेर हिँड्न थालेकी हुन् । स्थानीयको सल्लाहमा नजिकको स्वास्थ्यचौकी र अस्पतालमा पुर्‍याए पनि कमलाको मानसिक सन्तुलन फर्केन । मानसिकरुपमा ठीक नभएपछि कमलालाई घरमा थाम्न सक्ने अवस्था रहेन ।
उनले लगाएको कपडा च्यात्ने, भीरपाखातिर दौडने आदि गर्न थालिन् । मानसिक सन्तुलन गुमाएकी कमलाका एक छोरा पनि छन् । तर, छोराका बाबु को हुन् भन्ने अत्तोपत्तो छैन । कमलालाई गाउँकै कसले बलात्कार गरेर गर्भवती बनायो भन्ने पनि परिवारलाई थाहा छैन । कमलाबाट जन्मिएका ९ वर्षीय छोरा अहिले नजिकैको स्कुलमा २ कक्षामा पढ्छन् । तर, आमा नै त्यस्तो हालतमा भएपछि र बाबुको माया कस्तो हुन्छ भन्ने थाहा नपाएका बालकको पढाइ कहाँ राम्रो हुन सक्ला र !
इन्द्रमायाका कान्छी छोरी लक्ष्मीले पनि केही वर्षअघि बलात्कारको शिकार हुनुपर्‍यो । जेठी छोरीलाई कसले, कसरी आमा बनायो भन्नेसम्म खोजी नभइरहँदा कान्छी छोरी पनि बलात्कार पीडित भएको पीडा इन्द्रमायाले सुनाइन् । ‘जेठी छोरी कमलालाई पीडा दिने पीडकलाई कुनै, कतैको प्रशासनले पनि कारवाही गरेन,’ इन्द्रमायाले भनिन्- ‘बरु कान्छीलाई अर्काले बलात्कार गर्‍यो र पनि यहाँका पुलिस प्रशासनले हामीलाई हेरेनन् ।’ दुबै छोरीलाई बलात्कार गर्ने बलात्कारीलाई कसैले केही नगरेको रोक्का दम्पतीको गुनासो छ । आफ्नो मृत्युपछि यिनीहरुको भविश्य के होला भन्ने चिन्तामा छन् इन्द्रमाया दम्पती ।
इन्द्रमायाको जीवनमा यतिमात्र होइन, अरु पनि धेरै दर्दनाक पीडा छन् । उनी आफैंलाई बोक्सीको आरोपसमेत लागेको छ । उनलाई कतिपयले छि छि र दुरदुर गर्छन् । यसैकारण उनी बर्षौंसम्म घर बाहिर निस्कन सकिनन् । आजभोलि समय अलिकति फेरिएको छ । हिँडडुल गर्न, सभा सम्मेलन, गोष्ठी र हाटबजार हिँड्न छुट छ उनलाई । स्थानीय अधिकारकर्मी, दलित सचेतना समाज नेपाललगायतका अधिकारवादी संघ संस्थाको पहलमा उनी घरबाहिर निस्किन सक्ने भएकी हुन् ।
छोराछोरीको सहारामा बाँच्नुपर्ने उमेरका रोक्का दम्पत्तीले गएको केही वर्षयता वृद्ध भत्ता भने पाएका छन् । तर, केही जग्गा र खेत स्थानीय गोर्खे लिम्बु साहुकहाँ १९ हजार रुपैयाँमा बन्धकी राखेका छन् । बन्धकी निखन्न खोज्दा पनि साहुले नदिएको उनले पीडा पोखिन् ।
अहिले त्यही बन्धकी जग्गामा खेती गरी दैनिकी गुजारा चलाउँछन् । बल र बैँश सकिएर हात पाउ बसिसकेका झुप्पबहादुर अहिले दाम्लो, डोको र नाम्लो बुनेर घरको दैनिक खर्च टार्ने प्रयत्न गर्छन् ।
उमेरमा धेरै दुःख गरेको सुनाउने रोक्का दम्पतीका शरीरमा एक दुईवटा निजी रोगको भारी पनि छ । इन्द्रमाया पत्थरी र दमले ग्रसित छिन् भने झुप्पबहादुर पनि दमका रोगी छन् । ‘छोरी त सानैदेखि बिरामी थिई,’ झुप्पबहादुरले भने- ‘बुढेसकालमा सहारा देला कि भनेको जेठो छोरो पनि बिरामी परेको छ । उपचार गर्ने क्षमता छैन ।’
कमलाको उपचारमा परिवार र समाजले पहल नगरेको पनि होइन । तर, भनेजति रकम जुटाउन नसक्दा र औषधि निरन्तर खुवाउन नसक्दा आफूले केही गर्न नसकेको कमलाका बुवा ६२ वर्षीय झुप्पबहादुर रोक्काले दुखेसो सुनाए । उनले भने-‘गरीबलाई दीन लागोस् तर ऋण नलागोस् भन्थे, तर मलाई त ऋणभन्दा पनि दीन लागेर जीन्दगीभरि सतायो ।’
दुई-चारपटक छोरीलाई लिएर काठमाडौँसम्म उपचारका लागि धाएका दुई छोरा र चार छोरीका बाबुआमा रोक्का दम्पतीले छोरीको उपचार, नातिको पढाइलेखाइको चिन्ता छ । इन्द्रमायाले आँसु खसाल्दै भनिन्-‘गाउँमा आउने सबैलाई आफ्नो पीडा सुनाउँछु, कसैलाई घरैमा ल्याएर यसको पीडा देखाउँछु, र उपचारका लागि भनसुन गरिदिन भन्छु, तर कसैले पनि बाबु खोज्न र न्याय दिन चासो देखाएनन् ।’
                                   (अनलाईन खबरबाट
Powered by Blogger.