युएई (दुबई ) मा प्रतिबन्धित वस्तुहरु बारे जानकारी ।

के तपाईं संयुक्त अरब ईमिरेट्स (यूएई) आउन लाग्नु भएको छ ? वा आउने सोच बनाउँदै हुनुहुन्छ ? यदि त्यसो  भने यो ध्यान दिएर पढ्नु होस । यो देशमा भ्रमण वा रोजगारीको लागि आउने सवै विदेशी नागरिकहरुले आफ्नो साथमा केहि वस्तु ल्याउन पाउँदैनन् ।

कुनै पनि प्रकारको लागू औषधिको कारोवार गर्नेहरुलाई यूएईमा कडा सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको छ । तर केही नेपालीहरुले अज्ञानतावस निजी प्रयोगका लागि विभिन्न प्रकारका निषेधित वस्तुहरु र स्थानीय स्तरमा मात्र उत्पादन र विक्री वितरण हुने गरेका औषधि वा अन्य सामान साथमा ल्याएको कारण लामो समयसम्म छानविनको दायरामा रहनु परेको र थुना वा कैद सजाय समेत भोग्नु परेको छ ।

यी समस्या र संभावनालाई ध्यान दिँदै नेपाली राजदुतावास युएईद्वारा सार्वजनिक सूचनाका आधारमा यो महत्त्वपूर्ण जानकारी प्रस्तुत गरेको छु । निम्न वस्तुहरु झुक्किएर पनि नल्याउनु होला :

१. कुनै पनि प्रकारको लागू वा नशालू औषधि वा मनोद्वीपक पदार्थ (Psychotropic Substances) ।

२. गांजा,भाङ,धतुरो र यी वस्तु मिसाएर वनेको कुनै पनि प्रकारको परिकार वा अचार ।

३. पान,पान पराग र खैनी ।

४. नशालु वा झुम्मपार्ने वा लठ्याउने खालका एलोपेथिक वा रसायनिक औषधिहरु (Sedative Medicines) धेरै परिमाणमा अन्य औषधिहरु ।

५. शिलाजित वा स्थानीय स्तरमा उत्पादित एवं प्रशोधित रङ वा आकार प्रकारबाट के हो भनी भंसार निरीक्षकले चिन्न नसक्ने औषधिहरु ।

६. अश्लिल (नग्न तथा अर्धनग्न) तस्विर भएका किताव, पत्रपत्रिका, सिडि लगायतका वस्तुहरू र पूर्व अनुमति विना अश्लिल नभएता पनि ठूलो संख्यामा सिडि र डिभिडि हरू ।

७. यूएईमा एक लाख दिरहाम वा सो वरावरको विदेशी मुद्रा नगदै वा चेक र ड्राफ्ट साथमा लिएर आउँदा वा फर्कदा तोकिएको ढाँचाको फाराम भरी जानकारी गराउनु पर्ने ।

८. मर्चा,जांड,रक्सी,वियर तथा अन्य घरेलु मदिराजन्य उत्पादनहरु ।

९. सामानको नाम, उत्पादन गर्ने कम्पनीको नाम, संमिश्रमण (कम्पोजिशन), उत्पादन मिति, म्याद भुक्तान हुने मिति नजनाईएको र व्यवस्थित रुपमा प्याकिङ्ग नगरिएका अन्य कुनै पनि शंकास्पद जस्तो देखिने खाद्य पदार्थहरु वा आयुर्वेदिक लगायतका औषधिहरु ।

१०. आफूले नित्य रुपमा खानुपर्ने औषधि साथमा लिएर भ्रमणमा आउँदा बुझिने गरी लेखिएको डाक्टरको प्रेस्क्रिप्सन अनिवार्य रुपमा साथमा ल्याउनु होला ।
Powered by Blogger.