स्वाईन फ्लु फैलिँदै,उच्च सतर्क रहन आग्रह

१४,फाल्गुन ।
मुलुकमा स्वाइन फ्लुको संक्रमण अझ तीव्र भएको छ । स्वाइन फ्लु संक्रमित एक महिलालाई बुधबार काठमाडौं मोडेल अस्पतालको भेन्टिलेटरमा राखिएको छ। संक्रमितको संख्या १७ पुगेको छ ।
 करिब ५० वर्षीया ती महिला काठमाडौंकै स्थानीयवासी हुन् । उनले हालसालै कतै विदेश भ्रमणसमेत गरेकी छैनन्। 'दमको रोगी उनमा स्वाइन फ्लुको संक्रमणले निमोनिया विकसित भएको छ,' अस्पतालका निर्देशक डा.भरत प्रधानले भने, 'उपचार जारी छ।'
उपत्यकाबाहिर नगएको व्यक्ति कडा स्वाइन संक्रमणले थलिनुलाई सामान्य रूपमा लिन नहुने शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा.शेरबहादुर पुनले बताए । 'अब भारतबाट मुलुक र्फकने नेपाली मात्र हैन, स्थानीयमा समेत यो संक्रमण देखिन थालेको छ,' उनले भने । हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षणबाट १७ जनामा स्वाइन फ्लु देखिएको छ। विज्ञहरूले स्वाइन संक्रमितहरूको खास संख्या योभन्दा धेरै बढी रहेको अनुमान गरेका छन्।
 मुलुकमा स्वाइन कडा रूपमा देखिन थाले पनि संक्रमणसँग जुध्ने सरकारको तयारी कागजी र मौखिक मात्र रहेको गुनासो स्वास्थ्यकर्मीहरूले बताएका छन् । मुलुकको एकमात्र केन्द्रीयस्तरको सरुवा रोग अस्पतालमा अझैसम्म रुघाखोकीजस्तो लक्षण लिएर आउनेहरूका लागि बहिरंग विभागमा छुट्टै परीक्षण व्यवस्थासँगै आइसोलेसन वार्डसमेत छैन।
'रुघाखोकीजस्तो लक्षण भएका बिरामीलाई बहिरंग विभागमा छुट्टै परीक्षण गर्ने योजना भए पनि बुधबारसम्म बेग्लै वार्डको व्यवस्था छैन,' डा.पुनले भने ।
सबै बिरामीलाई एकै ठाउँमा परीक्षण गर्दा अन्य रोगको उपचारका लागि अस्पताल आएकामा समेत स्वाइन फ्लु सर्ने सम्भावना रहेको चिकित्सकहरू औंल्याउँछन्।
चार/पाँच दिनअघिसम्म रुघाखोकीको लक्षण लिएर भारतबाट फर्केका नेपालीहरू मात्र स्वाइनको स्वैच्छिक परीक्षण गर्न टेकु अस्पताल आएका थिए। अब उपत्यकाका स्थानीय व्यक्तिसमेत परीक्षण गराउन आउन थालेको टेकु अस्पतालका डा.राजेश साह बताउँछन्।
'स्वाइनको द्रुत परीक्षणमा निगेटिभ भएकाहरूलाई सय प्रतिशत संक्रमण भए/नभएको किटान गर्ने प्रक्रिया 'पीसीआर' का लागि पठाइँदैन,' डा.साह भन्छन्, 'द्रुत परीक्षणले मात्र ४० प्रतिशतमा स्वाइन भए/नभएको पहिचान गर्छ।' गत मंगलबार एनपीएचएलमा द्रुत परीक्षणमा स्वाइन निगेटिभ पाइएकी एक महिलाको पुनः पीसीआर परीक्षण गर्दा स्वाइन पोजेटिभ देखिएको थियो।


मास्क कति उपयोगी?
डा.शेरबहादुर पुनका अनुसार स्वाइनलगायत संक्रमणबाट बच्न मास्क लगाउनु मात्र पर्याप्त हुन्न ।  सुरक्षित मानिएको 'एन-९५', मास्क मुलुकमा सर्वसुलभ नपाइने उल्लेख गर्दै डा.पुनले भने, 'साधारण मास्कले पूर्ण सुरक्षा प्रदान नगरे पनि यो लगाएर घाटा हुन्न।'
डा.पुनका अनुसार 'थ्री-लेयर्स सर्जिकल मास्क' ले यस्ता खाले संक्रमणबाट बच्न केही हदसम्म सघाउन सक्छ। तर थ्री लेयर सर्जिकल मास्क उपलब्ध छैन भने पनि आत्तिनु पर्दैन। कपडाको मास्क, रुमाल वा पेपर मास्क उपयोग गर्नुसमेत प्रभावकारी नै हुन्छ। तर मास्क कसरी लगाउने भन्ने जान्नु आवश्यक छ। मास्कको गलत प्रयोगले संक्रमणको खतरा अझ बढ्छ। कपडाको मास्क प्रयोग गर्दा विशेष सतर्कता अपनाउनुपर्छ। पेपर मास्कको प्रयोग एक पटकभन्दा बढी गर्नु हुन्न। प्रत्येक प्रयोगपछि कपडा मास्कलाई साबुनले धुनुपर्छ।
रोगीलाई स्याहार गरेपछि मास्कलाई उतार्नुस् र हात साबुन पानीले धुनुस्। मास्कलाई मुख र नाक राम्ररी छोप्ने गरी लगाउनुपर्छ।
स्वाइनको बढी खतरा हुनेहरू
दम, श्वास रोगको समस्या भएकाहरूलाई स्वाइन फ्लुको संक्रमण हुने बढी खतरा हुन्छ। यस्तै मधुमेह, मुटु, कलेजो र स्नायु रोग भएकाहरूसमेत संक्रमित हुने उच्च जोखिममा रहन्छन्। गर्भवती महिला, बूढापाका र पाँच वर्षमुनिकामा यो संक्रमणको खतरा अन्यको दाँजोमा बढी हुन्छ। एचआईभी/एड्स वा अन्य कारणले रोग प्रतिरोधक क्षमता कम भएकाहरू पनि स्वाइनको उच्च जोखिममा हुन्छन्।
 श्वासप्रश्वासको माध्यमले एकबाट अर्कोमा सर्ने स्वाइन फ्लुको संक्रमण भए रुघाखोकीजस्तै नाकबाट पानी बग्ने, हाच्छिउँ आउने, खोकी लाग्ने, तीव्र ज्वरो आउने जस्ता लक्षण देखिन्छन् ।  पखाला र वाकवाकी लाग्ने, घाँटीमा खसखस हुने र सास फेर्न अप्ठेरो हुने जस्ता समस्या पनि देखिन्छन् ।
Powered by Blogger.