सरकारी कर्मचारी समेत विभेदको सिकार,घरमा पतिको क्रिया गर्न पाईनन

***छोराहरुसहित पौवामा बस्न बाध्य***
अर्घाखाँची : महिला अधिकार र जातीय विभेदविरुद्ध सक्रिय महिला तथा बालबालिका कार्यालय अर्घाखाँचीकी महिला विकास निरीक्षक बेलकुमारी परियारले पतिको किरिया गर्न पाइनन् ।  
अन्तरजातीय विवाह गरेकी उनले पतिनको निधनपछि किरिया गर्न जाँदा उनका परिवारले घरमा पस्न नदिएपछि पौवामा बस्न बाध्य भएकी छन् । सरकारी कर्मचारी नै विभेदको सिकार भएको यो घटनाले जातीय समानताका नारा र ब्यवहारमा भएको अन्तर छर्लङ्ग पारेको छ ।
अरुको हक र अधिकारका लागि सधैं लडिरहेकी सरकारी महिला कर्मचारी आफैँलाई परिवारले बहिष्कार गर्दा पौवामा बसेर पतिको किरिया बस्न बाध्य छिन् ।

अर्घाखाँचीको ठाडा गाविसकी परियारले २०५७ मा कास्कीको रुपाकोट–४ भोर्लेका विष्णुबहादुर कुवँरसँग प्रेम विवाह गरेकी थिइन् । सन्धिखर्कमा बस्दै आएका उनका पति विष्णुबादुर कुवँरले गत आइतबार आफ्नै कोठामा झुण्डिएर आत्माहत्या गरे ।
पतिले आत्माहत्या गरेपछि घरपरिवार र दाजुभाइलाई खबर भयो । कास्कीबाट कुवँरका परिवार आएर उनको दाहसंस्कार गरे । तर किरिया बस्न पत्नीलाई घर नलाने उनीहरुले अडान लिएपछि सन्धिखर्कका समाजसेवी र सरोकारवालाले लैजान आग्रह गरे ।
तर कुवँर परिवारले जातीय कुराले परिवारे समाजबाट बहिस्कृत हुने भन्दै परियारलाई लैजान मानेनन् । परिवारले लान नमानेपछि उनी पौवामै बसेर पतिको किरिया गर्न बाध्य भइन् । अहिले सन्धिखर्कको गच्छेस्थित एक पौवामा दुई छोराको साथमा पतिको किरिया बसेकी छन् ।
विवाहपछि बेलकुमारीलाई उनको घरमा कहिल्यै जान दिइएन । पति जीवित हुन्जेल जेठाजुको घरमा जाने गरेकी उनी पतिको निधन भएपछि त्यहाँ पनि जान पाइनन् ।
‘कहिलेकाँही जेठाजुको घरमा जान्थेँ । पतिको निधन भएपछि त्यहाँ पनि जान दिएनन्’, बेलकुमारीले गहभरी आँसु पार्दै भनिन्, ‘पतिको किरिया गर्न जान्छु भन्दा पोखराको घरको ढोका पनि थुनियो ।’
उनले घर बाहिरै बसेर किरिया गर्छु भन्दा पनि कुवँर परिवारले जानै नदिएको गुनासो गरिन् । ‘मलाई घरमा लैजानुस्, बाहिरै बसेर किरिया गर्छु भनी विन्ती गर्दा पनि नमानेपछि पौवामा बस्न बाध्य भएकी हुँ’, उनले भक्कानिँदै भनिन्, ‘मलाई नलगे छोराहरु दलित हैनन् । कुवँरकै छोरा हुन्, उनीहरुलाई लैजानुस् भन्दा पनि मानेनन् ।’
छोराहरुले पनि आमालाई छाडेर नजाने भनेपछि तीन आमा छोरा अहिले पौवामा किरिया बस्न बाध्य भएका हुन् ।  
सरकारी गैरसरकारी संस्थाले जातीय विभेदविरुद्द जनचेतनाका नाममा पैसा खर्च गरिरहेपनि पोखरा जस्तो विकसित ठाउँका मानिस पनि जातीय कुरीतिको पछि लाग्दा एउटी महिला अन्यायमा परेकी छन् ।
सन्धिखर्कमा भएको छलफलमा उनका जेठाजु तथा मृतकका दाजु हरिबहादुर कुवँर क्षेत्रीलाई बेलकुमारीलाई घर लैजान आग्रह गर्दा लैजाने मन भए पनि समाजबाट वहिस्कृत हुने डरले हिम्मत जुटाउन नसकेको बताएका थिए ।
विष्णुबहादुरको दाहसंस्कार गरेपछि कुवँर परिवार बेलकुमारी र छोराहरुलाई पौवामा छाडेर फर्केका छन् । उनीहरुले मानवता समेत भुलेर विष्णुबहादुरको किरियासमेत बसेनन् ।
Powered by Blogger.