ads

ads
ads

एन.आर.एन र मिडियाका कारण जीवन पाएँ-रिमाल

"नमस्कार सर,म साउदीमा विचल्लीमा परेँ । बिरामी छु,मर्ने बाँच्ने टुंगो छैन । कम्पनीले घर जान पनि दिँदैन । मलाई उद्दार गर्नु पर्‍यो ।" यो संदेश तीन महिना अघि मलाई फेसबुकमा प्राप्त भएको थियो ।

एक अपरिचित भाईले साउदी अरबबाट मेरो फेसबुकमा सम्प्रेषण गरेको त्यो संदेश संगै हाम्रो दोहोरो वार्तालाप शुरु भएको थियो । कुराकानीको क्रममा उनले आफ्नो पिडैपिडाले भरिएको दु:खद कथा सुनाए । गोर्खाका रामकुमार रिमाल भाई  कमाएर केही गर्ने आशा सहित साउदी अरब पुगेका रहेछन । तर त्यहाँ पुगेको केही साता नबित्दै बिरामीले थलिएका रहेछ्न ।

मेडिकल जाँचका क्रममा पिसाबमा रगत , पत्थरी र हर्निया देखिए पछि औषधि सेवन गर्दै काममा जाँदै गर्दा काम गर्नै नसक्ने गरि थलिएछन । त्यसपछि घरैमा गएर उपचार गर्छु,मरे पनि उतै मर्छु भन्दा कम्पनीले १२ हजार रियल तिरे मात्रै घर जान दिने भनेको रहेछ । यस्तो संकटबाट उम्केर घर जान धेरै तिर हारगुहार गर्दै सहयोगको बाटोहरु खोज्दै जाँदा म कहाँ नि ठोक्किन पुगेका रहेछ्न ।

हुन त म पनि प्रवासि । भाइ साउदी,म दुबई । यद्यपि एउटा संचारकर्मी र स्वदेशमा रहेर सामाजिक कार्यहरुमा खट्दैगर्दाको केही अनुभव र सिकाई म संग थियो । प्रवासी र नेपाली को भावनात्मक नाताले होला रिमाल भाईको कुराले मलाई निक्कै मर्माहत बनाएको थियो । यो समस्याबाट पार लगाउने बाटाहरु खोज्दै गर्दा झट्टै ठोस उपाय दिमागमा आएन । यद्यपि विकल्पहरुको खोजी गरिरहेको थिएँ।

पहिलो उपाय आफ्नो धर्म ठानी समाचार नै बनाउने निधो गरेँ अनि केही दिन भाईको बारेमा थप अध्यन गरेर स्थानिय र केही राष्ट्रिय पहुचँवाल अनलाईन हरुमा समाचार प्रकासन गरिदिएँ । मैले तत्काल गर्न सक्ने यत्ती थियो,त्यसपछि प्रवासमा निकै अघिबाट संघर्षरत मित्र सहकर्मी अन्नपूर्णका पत्रकार अर्जुन काफ्ले जि (मलेसियामा कार्यरत) संग भाईको विषयमा कुरा गरेँ । जो निकै अघिबाट प्रवासमा पत्रकारिता र यस्तै आपतविपतमा परेकाहरुलाई सहयोग गर्दै आउनु भएको थियो । वहाँ संग पनि भाईको फेसबुक कण्ट्याक्ट गराईदिएँ । अब हामी तीनजना भईसकेका थियौं ।

वहाँले आफ्नो अनुभव र पत्रकारिताको भरमग्धुर प्रयोग गरेर केही अधिकारवादी व्यक्तिहरु संग समेत कुरा राख्नु भयो । थप समाचार हरु समेत बनाईयो । अब भाईको कथा लगभग धेरै तिर फैलिई सकेको थियो । उद्दारको लागि पहल समेत हुँदै थियो,उनलाई साउदी पठाउने मेनपावर सित पनि सम्पर्क हुँदै थियो । तथापि निकास भने निस्किसकेको थिएन ।  उता कम्पनीले भाईलाई पैसा नतिरे प्रहरी कहाँ बुझाईदिने धम्की दिरहेको थियो । खाने बस्ने टुंगो थिएन,अरुको सहारामा जबर्जस्ति बाँच्दै थिए । म त यहीँ मर्ने भएँ भनेर हरेसलाग्दो कुरा गर्थे ।

हामी उनको उद्दारको निम्ती लागि नै रहेका थियौं । समाचार प्रसारणको माध्यमबाट सरोकारवालालाई घचघच्च्याउने हाम्रो मुख्य ध्येय थियो । संयोग नै मान्नु पर्छ समाचारको प्रभाव गैह्र आवशिय नेपाली संग (एन.आर.एन) साउदी सम्म पुगेछ । एन.आर.एनले भाईको समस्यालाई गम्भिर रूपमा लिएर सहयोग गर्न थाल्यो ।

व्यक्तिको कुरा हत्तपत्त नसुन्ने दूतावासले एन.आर.एनको आग्रहमा  भाईलाई बस्ने र खाने व्यवस्था मिलाईदिएको छ । एन.आर.एनले भाईको हरेक समस्यालाई सुक्ष्म ढङ्गले लिएर सहयोग गरिरहेको छ । खाने,बस्ने हरेक कुराको व्यवस्था दूतावास र एन.आर.एनले मिलाईदिएको छ । विदेशमै मर्छु होला भन्ने रिमालको मुहारमा अहिले आशाका त्यान्द्राहरु पलाएका छन । यो सब हुनुको मुख्य श्रेय उनी एन.आर.एन र संचारकर्मीलाई दिन्छ्न । उनी भन्छन "एन.आर.एन र मिडियाले सहयोग नगरेको भए त म पक्का यहीँ मर्ने थिएँ ।" 

चौतर्फी दवाव भएपछि मेनपावरले समेत उनी काम गर्ने कम्पनीलाई  १२ हजार रियल (नेपाली करिब ३ लाख ३५ हजार ) तिरिसकेको छ । कम्पनीले उनिविरुद्द कम्पनी छोडेर भागेको केस दर्ता गरेको हुनाले उक्त केस टुङ्गिन अझै केही दिन लाग्ने रिमालले बताएका छन । अबको केही दिन भित्रैमा केस टुङ्गिने हुँदा छिट्टै स्वदेश जान पाउने उनले सुनाए  । कमाएर परिवारको निम्ति केही गर्ने आशाले विदेशिएका रिमाल विदेशी भुमिमा पाईला टेक्न साथ बिरामीले थलिए पछि परिवार र उनको अवस्था कस्तो भएको होला,जोकोहीले सोच्न सक्छौँ ।

यस्तो हुनुमा कारक उनको स्वास्थ मात्रै छैन,स्वदेशमा स्वास्थ परिक्षण रिपोर्ट दिने स्वास्थ संस्था पनि उत्तिकै जिम्मेवार  छ । अस्वस्थ व्यक्तिलाई स्वस्थको रिपोर्ट कसरी दियो ? यी प्रश्न विचारणीय छ । खैर अन्य कुरा यथावत राख्दै भाई छिट्टै स्वदेश जाउन,स्वास्थोपचार गरेर छिट्टै स्वस्थ बनुन शुभकामना । उनलाई उद्दारका निम्ति खटिईरहने एन.आर.एन साउदी र मेरा सहकर्मी मित्रहरूलाई पनि विशेष धन्यवाद । (२६ मार्च युएई )

Powered by Blogger.