ads

ads
ads

सबै मिलि जीवन जोगाउँ,देश बचाउँ

रामकुमार परियार
२०७२ साल वैशाख १२ अर्थात हिजोको दिन हाम्रा निम्ति अभिशप्त रहेछ । एउटा ईतिहास ढलेर अर्को ईतिहास ठडियो । सुनौलो ईतिहास मेटिएर कालो ईतिहास पोतियो । उफ !!! सम्झिदा मात्रै पनि कहाली लाग्छ । झन प्रत्यक्ष देख्दा वा तस्वीर,भिडियो देख्दा कस्तो हुँदो हो ? उफ !!! व्यक्त गर्ने शाहस जुटाउन सकिन । सिंगो देश रोएको छ यतिबेला । सबको मन दुखेको छ । छाती छिया छिया भएको छ । नेपाल आमाको त कुरैं छोडौँ,डाँको छोडेर रुँदैछिन । यस्तो अवस्थामा के नै लेख्न सकिन्छ र ? के नै बोल्न सकिन्छ र ? शिवाय सहानुभूति र संवेदनाका दुई शब्द ।

२०६८ साल आश्विन १ गते जिवनमा पहिलो पटक भुकम्पको मज्जाले अनुभुति गरेको थिएँ । त्यस अघिको भुकम्प मलाई याद छैन । भुकम्पले विनाश गर्छ भन्ने त सानै देखि पढदै,सुन्दै आएको हुँ तर यति साह्रो गर्ला भन्ने कल्पना गरेको थिईन किनकि सानातिना भुकम्प आएका,गएका धेरै सुनिसकेको थिएँ । ०६८ सालको भुकम्प साँझ पख गएको थियो,मलाई राम्ररी याद छ,खास ठूलो थिएन तर पनि घर र बिजुलीका खम्बाहरु मज्जैले हल्लाएको थियो । पछि थाहा पाउँदा ५ जनाको प्राण पनि लगेछ । लगभग यो घटना मैले भुली सकेको थिएँ । तर हिजोको विनाशकारी घटनाले ती सम्पुर्ण अनुभुती ताजा गराईदियो । हो , निको भईसकेको घाउ बल्झिने मात्रै होईन क्यान्सर नै भएर आयो,एक्कासि ।

विशेषगरी दैनिक ज्यालादारी गरेर मुखमा माड हाल्ने सयौँ मजदुरको कार्य स्थलमै प्राण लग्यो,अबोध छोराछोरीलाई टुहुरो बनाईदियो । परिवारबाट बिदा मागेर केही समय घुम्न निस्केका विदेशी बटुवाहरुको परिवारसंगको पुनर्मिलन असंभव बनाईदियो । मीठो मीठो सपना बुनेर बसेका कैयन युवायुवती र किशोरकिशोरी को सारा सपना झर्‍यामझुरुम बनाईदियो कहिल्यै नजोडिने गरि । कत्ती कलिला केटाकेटीलाई संसार राम्ररी देख्नै नपाई टपक्क टिपेर लग्यो , निर्दयी भवितव्यले ।

जरजर द्वन्द्वबाट माथी उठेर भर्खर तङ्गृन लागेको मुलुकको अर्थतन्त्र फेरि थेचारियो । पुनः देश दशकौँ पछाडि पर्‍यो । ज्यादै दुखानुभुती हुँदैछ । विदेशी भुमिमा यस्ता खबरहरु सुन्दा,हेर्दा ज्यादै दु:ख लाग्दो रहेछ । आज अनुभुत गर्दैछु । कास यो बेला स्वदेशमा हुँदो हुँ अनि घाईतेलाई कम्तिमा एक ग्लास पानी पिलाउन पाएको भए पनि कत्ती आनन्द मिल्ने थियो होला यो बेचैन मनलाई । तर विडम्बना ! प्रवासमा १२ घण्टे जागिर पकाएर केही पल साथिभाई संग पिडामा भोगिरहेका घर-परिवार,आफन्त र साथिभाई संग भलाकुसारी गर्न पनि तालमेल मिलिरहेको छैन ।

यसको पीडा कत्ती भएको होला,तपाईंले पनि सहजै अनुमान लगाईसक्नु भयो । जे नहुनु थियो भई नै सक्यो । सायद हाम्रो भाग्य नै यस्तै थियो । सतिको सराप अकाट्य नै हुँदो रहेछ । अब हामी सित यस्ता उस्ता कुरा पोखेर भावनामा डुबेर बस्ने समय छैन । मनका कुरा पोख्नु भन्दा लडेकालाई उठाउन तिर लाग्नुपर्छ । छानो उढेकालाई पाल टाङ्गिदिन सक्यौँ भने त्यो नै हाम्रो महानता ठरिनेछ । यो राज्य वा सरकारको मुख ताक्ने बेला होइन । दोषारोपण गर्नु पनि बुद्दिमता ठहरिन्न किनकि यो भवितव्यको कारक कोहि होईनौँ । जे हुनु थियो भएरै छाड्छ भयो आखिर । हुने हार,दैव नटार भनेको यहि रहेछ ।

अबको यो विकराल परिस्थितिमा संभाव्य घटनाहरुको पुर्वानुमान गर्दै सावधानी अपनाउनु जरुरी छ । मृत्यु हुनेलाई त फर्काउन सकिन्न प्राण बँचेकाहरुलाई यथाशक्य चाँडो अस्पताल लगेर जीवन बँचाउनु नै हाम्रो पहिलो कर्तव्य हो । अंगभंग भएकाहरूलाई सम्बन्धित अस्पताल पुर्‍याएर संरक्षण गर्न अति आवश्यक छ । परिवार गुमाएर विक्षिप्त बनेकाहरुको घाउमा मलहम लगाउन तिर लाग्नुपर्छ न कि थप सन्त्रास थपेर पीडा दिन तिर । यस तर्फ सबैले ध्यान दिनु आवश्यक छ ।

संचारकर्मी मित्रहरूले पनि संयमित भएर समाचार सम्प्रेषण,प्रशारण गर्न आवश्यक छ । विभत्स तस्वीर र सामाग्री प्रकासन गर्नु पुर्व संभाव्य परिणामको आँकलन गरिदिनु होला । विक्षिप्त बनेकाहरुलाई थप पीडा नपर्ने गरि यथार्थ विवरण सार्वजनिक गरिदिनुहोला । खासमा यो समय व्यवसाय,कार्यालय बन्द गरेर उद्दार र राहतमा लाग्नुपर्ने बेला हो । त्यसैले हामी  सबैको सक्रिय साथ,सहयोग र ऐक्यबद्धता हुन जरुरी छ । अहिले नगरे,कहिले ? सोच्ने बेला आएको छ ।

फेरि पनि एउटा आग्रह , राज्य र सरकारको मुख नताकौँ । कसैलाई पनि दोष नलगाऔँ । यत्रो ठूलो संकटको सामना गर्ने शक्ति हाम्रो राज्य र सरकार एक्लै संग छैन । यसमा तपाईं हामी सबैले होस्टेमा हैँसे जोड्न अपरिहार्य छ । विदेशी नियोग,राष्ट्रहरुबाट समेत सहयोग प्राप्त हुन थालिसकेको छ । उनिहरुलाई खुल्ला ह्रदयले स्वागत गरौं । अनेक टिकाटिप्पणी र खोक्रो राष्ट्रवाद अलाप्न तिर लाग्यौँ भने त्यो हाम्रै निम्ति घातक बन्न सक्छ । आउ सबै मिलि जीवन जोगाउँ,देश बचाउँ ।
   

Powered by Blogger.