सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ शुक्रबार अन्त्येष्टि गरिने


काठमाडौं, बैशाख ३ – बुधबार राती निधन भएका पूर्व प्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ सूर्यबहादुर थापाको शुक्रबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । नयाँ दिल्लीबाट उहाँको पार्थिव शरीरलाई भारत सरकारको विशेष विमानबाट बिहीबार दिउँसो काठमाडौं ल्याउने तयारी छ । काठमाडौं ल्याएपछि बिहीबार दिनभर उहाँको पार्थिव शरीरलाई थापा निवास मालिगाउँमा राखिनेछ ।

शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने र त्यसपछि सार्वजनिक श्रद्धाञ्जलीका लागि दशरथ रंगशालामा राखिने राप्रपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार नै उहाँको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । सरकारको समन्वयमा अन्त्येष्टि हुने गिरीले जानकारी दिनुभयो ।
यसैबीच राप्रपाको आकश्मिक बैठकले देशले एक कुशल राजनेता गुमाउनुपरेको भन्दै श्रद्धाञ्जली एवं परिवारजनप्रति समवेदना प्रकट गरेको छ । 

Powered by Blogger.