ads

ads
ads

के तपाईंलाई ब्लड प्रेसर छ ? अत्यावश्यक जानकारी पढौँ ।

*ब्लड प्रेसर के हो ?

छाती छाम्यो भने पनि प्रस्ट थाहा हुन्छ । अझ कसैको छातीमा कान टाँसेर सुन्यो भने त ठूलै आवाजले भड्केको सुनिन्छ मुटु । हाम्रो बोलीचालीको भाषामा त्यसलाई मुटु चलेको भनिए पनि वास्तवमा त्यो मुटुले रगतलाई शरीरका विभिन्न भागमा पुर्याउनका लागि जोडले धकेलेको हो । हाम्रो शरीरका हरेक कोषले जीवित रहनका निम्ति आवश्यक पर्ने तत्वहरू खाना, हावा आदि रगतमार्फत नै प्राप्त गर्छन् ।

मुटुबाट धकेलिएको रगत सुरुमा दुईवटा ठूला धमनीमा जान्छ । यिनीहरू मुटुको दायाँ र बायाँ दुईतर्फ जोडिएका हुन्छन् । दायाँतर्फको धमनीमार्फत जाने रगत फोक्सोमा जान्छ भने बायाँ धमनीमार्फत जाने रगत शिरा नामक अलि साना धमनीमा जान्छ । साना धमनीहरू धेरै नै हुन्छन् । विभिन्न आकारका हुन्छन । तिनीहरू कोषिका नामक एकदम साना रक्तनलीहरूसँग जोडिएका हुन्छन् भने कोषिकाहरू शरीरका हरेक कोष–कोष र मांसपेशीसम्म पुगेका हुन्छन् ।


शिराहरूको आकार अनुसार तिनीहरूमा करिब १० देखि सयसम्म कोषिकाहरू जोडिएका हुन्छन् । कोषिकाले खाना, अक्सिजन आदि कोष–कोषमा पुर्याउँछन् । अनि, कोषमा भएको बिकार अथवा अनावश्यक कुराहरू फर्काएर ल्याउँछन्, जुन विभिन्न माध्यमले शरीरबाट बाहिर निस्कन्छ ।
हामीले नेपालीमा भन्दा धमनी, शिरा, कोषिका सबैलाई नशा भन्छौँ । तर, त्यो भनाइ सही होइन । नशालाई अंग्रेजीमा भेइन भनिन्छ । नशाले शरीरका विभिन्न भागबाट बिकारयुक्त रगतलाई प्रशोधनका लागि मुटुमा ल्याउने काम गर्छ ।

वास्तवमा धमनी, शिरा, कोषिका, नशा सबैलाई रगत हिँड्ने बाटाहरू भन्दा पनि अत्युक्ति हुँदैन । मुटुदेखि शरीरका हरेक कोषसम्म रगत पुग्ने प्रक्रियालाई नहर योजनासँग दाँज्ने हो भने मुटु भनेको खोलाबाट पानी तानेर नहरमा पानी पठाउने पम्प हो । धमनी भनेको मुहानको ठूलो नहर, शिरा भनेका शाखा नहरहरू, कोषिका भनेका खेतसँग जोडिएका कुलाहरू र हाम्रो शरीरका कोषहरू भनेका खेतका गराहरू हुन् ।

मुटुले जोडले धकेलेको रगत धमनीहरूमार्फत सही तरिकाले अगाडि जानको लागि धमनी पनि सही प्रकारको हुनुपर्छ । धमनीलाई साइकलमा हावा हाल्ने पम्पमा जोडिएको रबरको नलीसँग तुलना गर्न उचित हुन्छ । पम्पबाट राम्रोसँग हावा पास हुनका लागि उक्त नली लचकदार हुनुपर्छ, कडा हुनु हुँदैन । अनि, नलीमा कुनै फोहोर तथा कचडा जमेको वा पसेको हुनु हुँदैन । नली कडा भएको छ भने अथवा भित्र केही फोहोर छ भने पनि उक्त नलीबाट हावा त केही मात्रामा जान्छ । तर पम्पलाई बढी बलले दबाउनुपर्छ ।

त्यसरी नै धमनी पनि पर्याप्त मात्रामा खुला र लचकदार हुनुपर्छ । यदि धमनी कडा भयो भने अथवा यसको प्वाँलमा कुनै कुराले साँगुरो बनायो भने मुटुले पनि बढी जोडले रगत धकेल्नुपर्छ । बढी जोडले धकेल्नु भनेको नै मुटुले सकिनसकी बढी काम गर्नु हो । जसकारण रक्तचाप अर्थात् ब्लड प्रेसर बढ्न जान्छ । धमनी कडा हुनुको मूल कारण नुन बढी खानु हो भने प्वाल साँगुरो हुनुको मूल कारण प्वाँलमा बोसो लाग्नु वा जम्मा हुनु हो ।
धमनीबाट राम्रोसँग रगत पास हुन नसक्नुको अर्को पनि असर हुन्छ । जसरी मुख्य तथा सहायक नहरहरू आवश्यक मात्रामा फराकिला र सफा नहुँदा खेतमा राम्रोसँग पानी पुग्न सक्दैन, त्यसरी नै धमनी तथा शिरा र कोषिकामार्फत पूर्ण स्तरको रक्तप्रवाह हुन नसक्दा शरीरका विभिन्न भागका कोषहरूले चाहिँदो मात्रामा आवश्यक तत्व प्राप्त गर्न सक्दैनन् । त्यसो हुनु पनि शारीरिक असर नै हो ।

*ब्लड प्रेसर मापन

ब्लड प्रेसर दुई प्रकारका अंकको आधारमा नापिन्छ । माथिल्लो अंकलाई सिस्टोलिक भनिन्छ भने तल्लो अंकलाई डायस्टोलिक भनिन्छ । सिस्टोलिक भनेको मुटु खुम्चिएको बेलाको धमनीको प्रेसर हो भने डायस्टोलिक भनेको मुटुको धड्कनको दुई गतिको बीचमा मुटुले आराम गर्दाको प्रेसर हो । मानौं तपाईंको प्रेसर १२०–८० छ भने १२० सिस्टोलिक हो भने ८० डायस्टोलिक प्रेसर हो ।

उपल्लो अंक १०० देखि १४० र तल्लो अंक ६० देखि ९० बीचमा छ भने त्यो रक्तचाप सामान्य हो । त्योभन्दा बढी हुनु भनेको उच्च रक्तचाप अर्थात् हाई ब्लड प्रेसरको अवस्था हो भने कम हुनु भनेको अल्प रक्तचाप अर्थात् लो ब्लड प्रेसरको अवस्था हो । यदि रक्तचाप १२० देखि ७५ छ भने त्यो एकदम राम्रो आदर्श रक्तचाप हो ।

यसकारण रक्तचाप हाई अथवा लो हुन्छ भनेर ठ्याक्कै भन्न मिल्दैन । यो वंशाणुगत पनि हुन सक्छ । र व्यक्तिले आफ्नो जीवनयापनको तरिका नमिलाउँदा पनि रक्तचापको समस्या आउन सक्छ । त्यस्तै, मुटुको मांसपेशीको तन्दुरुस्तीपन, धकेल्न सक्ने क्षमता, धमनीको कडापन, धमनीको साथै कोषिकाहरूको फराकिलोपन पनि खानपान, धुम्रपान, सुरापानको मात्रा, शारीरिक परिश्रम आदिबाट प्रभावित हुन्छ । हाई ब्लड प्रेसर तथा लो ब्लड प्रेसर दुवै हाम्रा लागि खराब हुन्छन् ।

*लक्षण

टाउको दुख्नु, नाकबाट रगत आउनु, श्वास फेर्न असजिलो हुनु, मुटु अस्वाभाभिक जोडले धड्कनु, आँखाले धमिलो देख्नु, अनुहार रातो हुनु, झड्याङ्ङ रिस उठ्नु, नाथ्रो फुटिरहनु, निद्रा नलाग्नु, आदि हाई ब्लड प्रेसरका लक्षण हुन् । त्यस्तै, बिस्तारै टाउको दुखिरहनु, रिँगटा लाग्नु, मुटुको धड्कन अचानक घट्नु या बढ्नु, वाकवाकी लाग्नु, दुविधा हुनु, जतिखेर पनि निद्रा लाग्नु, आँखा धमिलो हुनु, कान टिन्न गर्नु, छिटो चल्मलाउँदा अचानक बेहोस भएर लड्नु आदि रक्तअल्पताका लक्षण हुन् ।

निम्नकोटिको मधुमेह हुने ३० प्रतिशत र उच्चकोटिको मधुमेह हुने ८० प्रतिशत व्यक्तिलाई ढिलो वा चाँडो हाई ब्लड प्रेसर हुन्छ, हुन्छ ।

त्यसको अतिरिक्त मिर्गौलाको समस्या हुने, शरीरमा हर्मोनको ठीक अनुपातमा नहुने, धुम्रपान गर्ने, मद्यपान गर्ने, औसत तौलभन्दा पाँच किलो बढी तौल हुनेलाई, राति काम गर्नेहरूलाई, पर्याप्त नसुत्नेहरूलाई, फलफूल र हरियोपरियो कम खानेलाई, तेल र बोसोयुक्त खाना बढी खानेलाई, नुन तथा मसला बढी खाने चलन भएका अफ्रिकी र दक्षिण एसियाली मूलका व्यक्तिलाई, शारीरिक परिश्रम नगर्नेहरूलाई, गर्भवती तथा गर्भनिरोधक चक्की प्रयोग गर्ने महिलालाई, ४० वर्ष कटिसकेका व्यक्तिहरूलाई हाई ब्लड प्रेसर हुने धेरै सम्भावना हुन्छ ।
ब्लड प्रेसर बढ्यो भने मिर्गौला बिग्रिने, श्वासप्रश्वास तथा मुटुसम्बन्धी धेरै प्रकारका रोग लाग्ने, अन्धो हुने, हृदयघात हुने, मस्तिष्कको नशा फुटी मस्तिष्कघात हुनेलगायत जीवनलाई नै जोखिम पार्ने नराम्रा परिणाम हुन सक्छन् ।

*समाधानका उपाय

खानपान सुधार्ने, धुम्रपान र मद्यपान त्याग्ने, समस्या पर्दा पनि पृथ्वी नै पल्टेलाजस्तो गरी नआत्तिने स्वाभाविक रूपले लिने, हरियो चिया प्रशस्त पिउने, बेलैमा र दिनको कम्तीमा ८ घन्टा सुत्ने, शारीरिक परिश्रम गर्ने गरे दुवै प्रकारको ब्लड प्रेसर नियन्त्रण हुन सक्छ ।

दिनमा आधा घन्टा मात्र छिटोछिटो हिँड्यो भने पनि महिना दिनभित्र ब्लड प्रेसरमा धेरै नै सुधार आउँछ । सकेमा र समय मिलेमा दिनमा १० हजार पाइला हिँड्ने हो भने त एक महिनामै ब्लड प्रेसर ठीक अनुपातमा आउँछ । औषधि नै खानुपरे पनि ढुक्कसाथ खानुपर्छ । औषधि खायो भने खाइराख्ने बानी पर्छ भन्ने भनाई धेरै नै सुन्न पाइन्छ, त्यो सरासर गलत हो ।

(उदय गौतम , रातोपाटि , ३० ज्येष्ठ)
Powered by Blogger.