नेपथ्य मै हराएका डिल्ले दमाई र पुतली दमाईहरु

गिरिस गिरि
संखुवासभा ।
२०१३ सालताका पूर्वी नेपाल भ्रमणमा हिँडेका राजा महेन्द्रले ओखलढुंगाको दूधकोशी छेवैबाट रुक्मांगद कटवाललाई मात्र काठमाडौं ल्याएका थिएनन्, गाउँगाउँमा भेटिएका थुप्रै आसलाग्दा प्रतिभा पनि उपत्यका भित्र्याइएका थिए ।


भ्रमण क्रममै खोटाङ हुँदै भोजपुर पुगेका महेन्द्रको बिसौनी बन्यो, दिल्पा किनारैको क्याम्पा चौर । उनलाई कसैले गाउँले गायिका पुतली दमाईसँग भेट गराइदियो । १२ वर्षीया पुतलीको स्वरमा जादू थियो । स्थानीय भाका टपक्क टिपेर गाउने उनको आवाज राजा महेन्द्रलाई मन पर्यो । ‘तिमी त लता (मंगेशकर) ले भन्दा राम्रो गाउँदी रहिछौ,’ राजाको भनाइ सम्झँदै स्थानीय भन्छन्, ‘लौ, आजदेखि तिम्रो नाम महालता भयो ।’ राजाले उनलाई नयाँ नाम मात्र दिएनन्, सँगै काठमाडौं लिएर गए । त्यसपछि गाउँलेले रेला गर्दै गीतै बनाएका थिए । त्यही गाविसका पूर्वअध्यक्ष विष्णुकुमार राई भाका हालेर त्यो गीत सुनाइरहेका थिए-
 
‘आकाशैमा तीनतारा उदायो,
महेन्द्रले दमिनी कुदायो...’

गीतले जेसुकै भनोस्, राजा महेन्द्रले काम भने ठीकै गरेको राई बताउँछन् । भलै महालताले काठमाडौंमा खासै प्रगति गर्न सकिनन् । हार्मोनियम बजाएर गाउने उनले केही गीत कम्पोज गरेकी थिइन् । अहिले त्यसको कुनै रेकर्ड बाँकी छैन ।

काठमाडौं आएपछि राजाले समय नदिएको बताउने महालता त्यसपछि हरि शमशेरको दरबारमा पुगेकी थिइन् । त्यहाँ स्कुल पढाउन खोजिए पनि उनले मानिनन् । २०१७ सालताका गाउँ नै फर्किन् । गाउँलेहरुका अनुसार उनलाई बडाहाकिमको कार्यालयमार्फत् पछिसम्मै खर्च आउने गरेको थियो ।
अत्यधिक मदिराको लतमा फँसेकी महालताको जीवन अव्यवस्थित रह्यो । जताततै गाउँदै हिँड्ने उनले जीवनको उत्तरार्धसम्म सर्ट पाइन्टै लगाएको देख्नेहरु सम्झन्छन् । पछिल्लो समय दलित भएकैले पछाडि परेको उनको गुनासो हुने गथ्र्यो । यहीबीच केही वर्षअघि सदरमुकाम आसपासमै दूर्गतिपूर्ण ढंगले उनको मृत्यु भएको स्थानीय सुनाउँछन् ।

जीवनको उत्तराद्र्धमा नामको पछाडि ‘अकेला’ झुन्ड्याएकी महालतापछि पनि पिखुवा खोला किनारका बस्तीले थुप्रै सांगीतिक प्रतिभा जन्माएको छ– श्रवण मुकारुङ, बुलु मुकारुङ, पारस मुकारुङ, गणेश ‘रसिक’ । त्यसैगरी अलिक पर जाने हो भने हिरण्य ‘भोजपुरे’, मन्जुल र श्याम तमोटजस्ता प्रतिभा पनि जन्मेका छन् ।

‘त्यो बेला बाजा बजाउने र नाचगान गर्नेहरु गाउँका दमाइ नै हुन्थे,’ रसिक सम्झन्छन्, ‘हाम्रा रचना उनीहरुकै सानिध्यमा विकास भएका हुन् ।’

रसिकका अनुसार गाउँमा धान रोप्दा बेठी लगाउने चलन थियो । नौमती बाजासहित आउने दमाईहरु पुस्तौंदेखि चल्दै आएका धुन सुनाउँथे । बितेको साता यही भेगमा असारे रोपाइँ चलिरहेका खेतै खेत गुज्रँदा त्यो सांगीतिक परम्पराले निरन्तरता पाएको कतै देखिएन ।

‘पुस्तौंदेखि स्थानीय धुन विकास गर्दै आएका दमाई समुदाय अहिले पनि नभएका होइनन्,’ सदरमुकाम भोजपुरका सक्रिय युवा हेमन्त मुकारुङ भन्दै थिए, ‘बाजा बजाउने काम भने पछिल्लो पुस्ताले छाडेका छन् ।'

‘अरुणै तरेँ नि बरुणै तरेँ,
ए लै लै दूधकोशी तर्नु छ,
छेउकाटी रुमाल चट्टै
आमाको कोखमा नि बास मात्रै लिएँ,
ए लै लै कहाँ गई मर्नु छ,
छेउकाटी रुमाल चट्टै...’
 
भोजपुरकै दिंगलाबाट उदाएका गायक गंगा ‘वरदान’ ले धेरैअघि यो गीत देशभरि फिँजाइसकेका छन् । उनको गायकीभन्दा बेग्लै हाक्पारे लयमा यो गीतको मूलसम्म पुग्न भने अरुण पारिका डिल्ले दमाइ नै चाहिन्छ । चैनपुर पुगेको साँझ हामी उनैको खोजीमा थियौं ।


बजारबाट घरि तेर्सो त घरि ओरालो लाग्दै गएपछि अन्धकारमा डुबेको एउटा बस्ती आइपुग्यो । दमाई टोल । एकै छिनमा भेटिए, ८० वर्ष हाराहारीका डिल्ले दमाई ।

गाउँमा नौमती बजाउनेहरु हराउँदै गएपछि दुइटा बाजा एकसाथ फुक्दै सदरमुकाम खाँदबारीसम्मै जन्ती पुर्‍याएको अनुभव छ, डिल्लेसँग । अहिले त नौमती बाजाको आवाजै हराइसकेको सुनाउँदा उनको कण्ठ अवरुद्ध हुँदै थियो ।

उमेर छँदा राजासामु गीत सुनाएको र एकसाथ ३१ हजार रुपैयाँ इनाम पाएको अनुभव उनको जीवनकै सबैभन्दा खुसीको क्षण रहेछ । उनले बारम्बार त्यसको उल्लेख गरे । आफूले गाउने सबैजसो भाका हजुरबुवा उजिरे दमाइबाट विरासतमा पाएको उनको कथन थियो । संगीतको ज्ञानले सम्पन्न डिल्लेलाई उमेर जति भए पनि गाउँभरिका बासिन्दा ‘तिमी’ भनेर सम्बोधन गर्छन् । यसमा उनलाई खासै आश्चर्य छैन । बरु पुर्खाबाट टिप्दै आएको भाकालाई पछिल्लो पुस्ताले निरन्तरता नदिँदा आफूसँगै यसको पनि अन्त्य हुनेमा उनलाई विस्मात लागेको छ ।
‘डिल्ले दाइ, तपाईंसँग भोलि पनि विस्तारमा कुरा गर्न मन लागेको छ,’ रात परिसकेकाले विदा माग्दै भनियो, ‘सबेरै बजार उक्लिन सक्नुहुन्छ ?’
उनी सहर्ष तयार भए ।


भोलिपल्ट तोकेको समय अगावै बजार आइसकेका डिल्ले दमाई सडककै छेउमा बसिरहेका थिए । उनीसँग बाटो छेउको भीडभाडमा कुरा गर्न सहज थिएन । लमतन्न तेर्सिएको चैनपुर बजारमा कसैले डिल्ले दमाईलाई ढोकाबाट भित्र छिराउन तयार भएनन् । स्कुल र कलेजको विकल्प पनि खोजियो । कतै पार नलागेपछि बजारकै तल टुँडिखेलको होटल लैजाने निधो गर्नुपर्‍यो । होटल सामुन्ने कोही नभएको मौका छोपेर कोठाभित्र पुर्‍याइयो । ढोका लगाएपछि बल्ल उनीसँग बिस्तारमा कुरा गर्ने मौका मिलेको थियो ।

हिजोआज रेडियोले बजाउने नौलो भाकाका अघिल्तिर आफूले अभ्यास गर्ने खालका गीतहरु सुनिन छोडेको उनले बताए ।

‘चट्ट पारेर रेकर्ड गरिएका गीत हुन्छन्,’ उनी भनिरहेका थिए, ‘हामीले जानेका भाका त्यता कामै लाग्दैन ।’
उनका अनुसार गाउँमा स्थानीय एफएम व्यापक विस्तार भएका छन्, जसलाई लोप हुँदै गरेका मौलिक संगीत जोगाउनुपर्छ भन्ने चेतै छैन । ‘नबजाए पनि कसैले रेकर्ड गरेर राखिदिए हुन्थ्यो,’ उनको भनाइ थियो, ‘पिता पुर्खादेखि सुन्दै आएका शब्द र धुन मैसँग मरेर जाला कि भन्ने चिन्ता पो लाग्न थालेको छ ।'

डिल्ले दमाईको समुदायमा नयाँ पुस्ताको ध्यान जसै पुख्र्यौली पेसाबाट मोडिएको छ, उसैगरी गाउँगाउँमा एफएम रेडियो स्टेसनहरुको प्रभाव व्यापक हुँदै गएको छ । काठमाडौंको कुनै कोठामा तयार पारिएका ‘चालू’ धुन र शब्दहरुको जञ्जालले सम्पूर्ण ग्रामीण भेगलाई लपेट्दै लगेको छ । यसको प्रभावमा गाउँका मौलिक धुन हराउँदै गएका छन् भने ‘सहरिया लोकगीत’ले सबैलाई एकाकार बनाइरहेको छ ।
‘मिडियाले आफ्नो सजिलो पछ्याउँदै अर्कै परिवेशको विकास र विस्तार गरिदिएको छ,’ रसिक भन्छन्, ‘हामीले चाहेर पनि केही नहुने भइसक्यो ।’

रत्न रेकर्डिङ, साँस्कृतिक संस्थान र साझा प्रकाशनसम्मको नेतृत्व गरिसकेका रसिक यतिबेला स्वयं इलाममा बसेर एफएम स्टेसन चलाइरहेका छन् । ‘काठमाडौंमा तयार पारिएका एकखाले लोकगीतको प्रवद्र्धन यति सजिलै भइरहेको छ,’ रसिक भन्छन्, ‘गायकका अनुरोधसहित सित्तैमा पाइने त्यस्ता गीत बजाउन छाडेर मेहनत र लगानी गर्नुपर्ने खोजीमूलक कामतिर को लाग्ने ?’

निजी रेडियोबीच चलिरहेको अस्वस्थ प्रतिस्पर्धा र लगभग सबैजसोलाई तलब खुवाउनै समस्या भइरहेको बेला यस्तो काममा सरकारी सञ्चार माध्यमले अग्रसरता लिइदिनुपर्ने रसिकको तर्क छ ।
‘एफएम सञ्चालकहरुबीच एकपटक यो कुरालाई सामाजिक उत्तरदायित्वका रुपमा अघि बढाउने सहमति भएको थियो,’ उनी भन्छन्, ‘बजारी कुरामै प्रतिस्पर्धा चलेका बेला बिरालोको घाँटीमा घन्टी झुण्ड्याउने कोही निस्केन ।’

त्यसैको प्रभाव हो, माझी, तामाङ, धेरैथरि राई, गुरुङ, बाहुन क्षेत्रीदेखि  काठमाडौंबाट चैनपुरसम्मै धागोजस्तो तानिएको नेवार बस्तीहरुमा एउटै गीत, एकैखाले शब्दहरुको एकछत्र राज चल्न थालेको छ ।  २०२७ सालताका स्थानीयता खोज्दै बनेपादेखि संखुवासभासम्म पैदल पुग्ने रामेश र मन्जुलहरुका निम्ति अब यता कुनै आवाज बचेका छैनन् । उनीहरुकै यात्रालाई निरन्तरता दिन खोज्दै यसै भेगको यात्रा गर्ने पछिल्लो पुस्ताका गायक अमृत गुरुङको अनुभवले यसै भन्छ ।

‘यस्ता कुरा जोगाउन हामीले वातावरणै बनाउन सकेनौं,’ पैदल हिँडेरै संखुवासभा पुगेका अमृत भन्दै थिए, ‘एकाध स्थानमा बाँचेका वृद्धहरुसँगै लोकगीत संकलनको परम्परा छिट्टै निमिट्यान्न हुँदैछ ।’
Powered by Blogger.