ads

ads
ads

सुगौली सन्धिमाथि लालबुझक्कडहरुको दास मनोबृत्ति

डी.आर. कोइराला

हरुवा राज्यको नामबाट प्रचार प्रशारकै भरमा अंग्रेजले स्वीकार्न बाध्य पारे पछि रहन गएको देशको नाम हो नेपाल । त्यसैले पनि होला नेपालमा दास प्रबृत्तिले गाडेको जरो हालसम्म मकिएको छैन । हुनत हिजो आज गणतन्त्र सस्थागत भएर दास प्रबृत्ति निर्मुल भयो भनेर प्रचार गर्नेमा नेपाली शासक, बिभिन्न दलका नेता, नेताका समर्थक र समर्पित कार्यकर्ता, नेताका तावेदारीमा लागेका डिग्रीधारी विद्वान्, प्रचारकै भरमा तथ्य लुकाउनसक्ने लालबुझक्कड एवम् बुद्धिजीवीका साथै आशामुखी परराष्ट्रविद्हरुले सत्यतथ्य र यथार्थलाई उजागर नगरी मालिकको ताबेदारीकालागि प्रमाणित इतिहासलाई दायाँबायाँ पारेर लेख्न बोल्न लागेका देखिदै आएकोले साविकको दास मनोबृत्ति नै हावी भएको प्रष्ट देखिन्छ ।

बडाले जो गरयो काम हुन्छ त्यो सर्वसम्मत । छैन शंकरको निन्दा मगन्ते भेष निन्दित ।।

यस्तै नै चल्दैछ, तथाकथित २ डिसेम्बर १८१५ को सुगौली नामको सन्धिले भोगेको दास मनोबृत्तिको पिडा । इतिहासको आफूखुसी मनपरी व्याख्या गरेर दुनो सोझ्याउन लालायित वरद आशिर्वाद प्राप्त पण्डितहरुले सन् १८१५ को सुगौली सन्धिलाई सन् १८१६ को सुगौली सन्धि हो भनेर प्रचार गरेपछि सबै जनमानसले पत्याउँनै पर्ने बाध्यता भएको छ । कसैले प्रमाणित तथ्यका आधारमा सुगौली सन्धि भनेको २ डिसेम्बर १८१५ हो भनेर बोल्यो भने खिसी गर्दै कुटिल हाँसो हाँसेर उडाउने, कसैले लेख्यो भने नेपालको राजनीतिलार्इ उलटपुलट पार्नसक्ने हैसियतमा रहेको ठन्ने नेपालका नाम चलेका पत्रपत्रिकाको सेण्डिकेटले दानापानीमा घाटा हुने ठानेर प्रकाशित गर्ने मौका नदिने जस्ता परम्परा हावी भएको नेपाली संचार जगतमा दाश मनोबृत्ति छैन भनेर पत्याउने ठाउँ देखिन सकेको छैन।
 
राष्ट्रसंघको सदश्यता प्राप्त गर्ने सिलसिलामा २६ मे १९४९ का दिन सरकारले नेपाल सम्प्रभुता सम्पन्न स्वतन्त्र देश हो भन्ने प्रमाणका रुपमा कुन कुन सन्धिहरु पेस गरेको थियो भन्ने हेक्कासम्म नभएका पण्डितहरुले लेखहरु लेखेर, सामान्य मात्रै होइन डिग्रीधारी नेतासम्मले भाषण गरेर, रेडियो एफएममा प्रशार गरेर साथै पत्र पत्रिकामा विचार प्रकाशित गरे भन्दैमा ८ डिसेम्बर १८१६ मा इष्टइण्डिया कम्पनीले सुगौली सन्धिले हट्पेका भूभाग मध्ये केही भूभाग फिर्ता गर्ने बेहोराको प्रस्तावपत्र मेमोरेण्डम र ११ डिसेम्बर १८१६ को उक्त मेमोरेण्डम प्राप्तिको जनाउ दिने भरपाईका साथै सोही दिन राजाको लालमोहोर लागेको कागजलाई सुगौली सन्धि यही नै हो भन्न मिल्दै मिल्दैन।
 
तर माथिको बडाले जो गरयो काम ………. निन्दित …… भन्ने स्लोकका फर्मुलाको अघाडी प्रमाणित तथ्यले पन्छिनु परेका अवस्थामा सामान्य नागरिकले तथ्य र प्रमाणका आधारमा बोलेका, लेखेका कुराहरुको के मूल्य रु । जसो जसो बाहुन बाजे उसै उसै स्वाहाः। अर्को व्यवस्था नभएसम्म हालका लागि दाश प्रबृत्तिबाट ग्रसित नयाँ नेपालको दैनिकी यस्तै हो भनेर मान्न बाध्यहुनु बाहेक अरु खासै के पो छ र ।

देशमा हालीमुहाली चल्ने ठूला बढाहरुले जे अर्थ लाए पनि सन् १८१६ को प्रस्तावपत्र मेमोरेणडमका साथै मेमोरेण्डम बुझेको जनाउ दिएका भरपाई र राजाको लाल मोहोर लागेको कागज सन्धि नभएर सुगौली सन्धिको संसोधन मात्रै हो । यो मेमोरेण्डमबाट २ डिसेम्बर १८१५ को सुगौली सन्धिमा उल्लेख भएका केही भूभाग इष्टइण्डिया कम्पनीबाट फिर्ता हुन आएका छन् । यसै गरेर १५ नोभेम्बर १८६० का दिन भएको अर्को सन्धिबाट सुगौली सन्धिमा उल्लेख भएका केही भूभाग पुनः फिर्ता भएर गोर्खा साम्राज्यबाट अंग्रेजले नामाकरण गरिदिएको निउपाल, निपाल, र पछि आएर नेपाल खाल्डोको पौराणिक नाम नेपाललाई स्वीकारेर भएको देश नेपालका सीमानाहरु पटक पटक परिवर्तन भएका छन् भने भारतबाट अतिक्रमित भूभागको फेहरिस्त लामो हुन सक्छ ।

यति हुँदा हुदै पनि सन् १८१५ को सुगौली सन्धिले कायम गरेका सीमानालार्इ सन् १८१६ सन्धि संशाोधनले परिवर्तन भए भने सन् १८१६ मा कायम भएका सीमानाहरु सन् १८६०को सन्धिबाट परिवर्तन भएका थिए । पटक पटक गरी यस अघि भएका २ डिस्म्बर १८१५ को सुगौली सन्धि लगायतका सबै सन्धि सम्झौता र प्रतिबद्धताहरुलार्इ अंग्रेज सरकारसंग भएको ८ अप्रिल १९२३ को सन्धिले मान्र्यता दिदै सदर कन्फर्म गरेका दस्ताबेजहरुलार्इ नेपाली लालबुझक्कडहरुले झैं लुकाउन मिल्दैन ।

यस्तै गरी ३१ जुलाई १९५० को नेपाल भारत मैत्री सन्धि र ३० अक्टुबर १९५० को नेपाल र बेलायत सरकार बीचक मैत्री सन्धिहरुले यस अघि भएका सबै पुराना सन्धि सम्झौता प्रतिज्ञापत्रहरुसमेत खारेज गरेकाले हाम्रो देशको सीमाना पुनः परिवर्तन हुँदै २ डिसेम्बर १८१५ को सुगौलि सन्धि भएका दिनको अवस्थामा पुगेको छ।
यस्ता प्रमाणित तथ्य भएर पनि सन् १८१६ को सुगौली सन्धिले निर्धारण गरेको सीमाना नेपालको हो भन्दै लालबुझक्कडी तर्क दिनेहरुले के घोकेर बुझ्न जरुरी छ भने हाम्रा देशको सीमाना खारेज भएका सन्धिमा उल्लेख भए अनुसार हुन्छ कि खारेज भएको सन्धिभन्दा अघि सुगौली सन्धि हुँदाका अवस्थाको हुन्छ ।

मालिकको तावेदारीमा लागेर ऐतिहासिक लेख लेख्ने लेखन्दास पण्डित, बुद्धिजीवी, विद्वान् एवम रेडियो र टेलिभिजनका साथै सार्वजनिक स्थानमा भाषण गर्दै मपार्इै बनी हिड्ने डिग्रीधारी राजनीतिज्ञहरुको हिनताबोधको चरित्र देख्दा, हग्नेलाई भन्दा देख्नेलाई लाज लागे पनि दास मनावृत्तिकै कारणले लाजसरम पची सकेकाहरुलाई फरक नै नपर्दो रहेछ ।

त्यस्ताहरुले नेपाली जनसाधारणका अगाडी अनेको फुँदा जोडेर विद्वता र बुद्धिमत्ता प्रदर्शन गरेको बहाना बनाएर हाम्रा अघाडी जतापायो उतै कुर्लने, भुक्ने, बास्ने। दादागिरी देखाउँदै अहंकार प्रदर्शन गर्ने, दाश मनोबृत्तिका लालबुझक्कड एबम् शासक र ठूला दर्जाका स्वनामधन्य नेताहरुका साथै उनीहरुका आशे गाँशे आशामुखी कलमकारहरु बाहेक हालसम्म यी माथि उल्लेखित चटकीहरुको चटक हेरेर दुःख मान्दै अवाक भएर बसेका देशभक्त विद्वान, बुद्धिजीवी, राजनीतिज्ञहरुले अघाडी आएर बोल्ने बेला आएको छ ।

नत्र भने माथि बर्णन गरिएका र अन्य केही विवेकहिन देशद्रोही नेपाली नेताहरुको सहयोगमा भारतीयहरुले पहिलेदेखि तयार पारेको ग्राण्ड डिजाइनले नेपालको अखण्डता, स्वभीमान र सार्वभौमसत्ता समाप्त हुन बेर नलाग्ला ।
Powered by Blogger.