Header Ads

HTML5 Icon

अन्तरजातीय विवाहकै कारण १० वर्ष जेल बसेर छुटेका सुमनको कथा


म्याग्दी, माघ २८ –  ‘बाल्यकालमै हुर्किएको प्रेमले जेलको बास गराउँछ भन्ने बुझेको भए विवाह त के, कर्के नजरले पनि हेर्ने थिइन उनलाई’ अन्तरजातिय विहेका कारण १० वर्ष कारागार बसेर जेलमुक्त हुँदा बाबियाचौर-४ म्याग्दीका सुमन सुनारसँग बाँकी छ त केवल यही शब्द मात्र । उहाँको श्रीमती अर्कैसँग वैवाहिक जीवन बिताइरहेकी छिन् भने  आफन्त पनि टाढिएका छन् । अनि गरीखाने मेलो पनि भत्किएको छ ।
२०५९ सालताका फ्युचर बोर्डिङ स्कुल बाग्लुङमा अध्ययनरत सुमनका लागि जनप्रिय उच्च मावि दर्बाङमा पढ्न जानु नै भेटको अवसर बन्यो । बोर्डिङ पढ्दै गरेका सुमन तत्कालीन द्वन्द्वका कारण बोर्डिङ स्कुल बन्द भएपछि अध्ययनलाई निरन्तरता दिन २०६० सालमा जनप्रिय उच्च माविको कक्षा ५ मा भर्ना हुनुभयो । सुमनको भेट त्यही विद्यालयको कक्षा ४ मा अध्ययनरत रनमाया पुनसँग भयो ।
त्यतिबेला सुमन १४ वर्ष र रनमाया १३ वर्षको हुनुहुन्थ्यो । बोर्डिङ स्कुलबाट कक्षा ४ सम्मको अध्ययन पूरा गरेर गएका सुमनलाई नयाँ विद्यालयमा रनमायाको साथ मिल्यो । कलिलै उमेरमा प्रेम सम्बन्धमा गाँसिएका उनीहरुले अन्ततः विद्यालयबाट भागेर विवाह गरे । सुमन त्यसबेलाका दिन सम्झनुहुन्छ ‘त्यो बेला सोच्ने क्षमता पनि नआउँदो रहेछ, विद्यालयमा अरुले थाहा पाउन थालेपछि हामी त्यहाँबाट भाग्यौं, हाम्रो पढाइ पनि रोकियो ।’ 
सुमनको जेल कहानी
सुमन त्यो दिन म्याग्दीको बेनी बजार घुमिरहनुभएको थियो । त्यत्तिकैमा जिल्ला प्रहरी कार्यालय बेनीको प्रहरी टोलीले पक्राउ गर्‍यो । तत्कालीन माओवादी द्वन्द्व चर्कंदो थियो । उहाँलाई लाग्यो, सायद कसैले केही पोलझोस् गरेको होला ? प्रहरीले पनि केही सोधपुछ गर्नुछ भनेर नै लाग्यो । त्यत्तिबेला उहाँले बिहे गरेको ३ वर्ष बितिसकेको थियो । २०६० सालमा प्रेम विवाह गरेका सुमन दम्पतीले २०६२ सालमै छोरो जन्माइसकेका थिए ।

प्रहरीले पक्राउ गर्दा समेत आफूलाई नियन्त्रणमा लिनुको कारणबारे थाहा नपाएका सुमनले प्रहरीले हिरासतमा राखेर सोधपुछ गरेपछि मात्र थाहा पाउनुभयो, आफूलाई छिमेकीको घर तोडफोड र डकैती मुद्दा चलाएको रहेछ । त्यतिबेलाको जेलजीवन बारे सम्झिँदै सुमन भन्नुहुन्छ ‘द्वन्द्वकालमा मलाई यति यातना दिए प्रहरीले, बन्दुकको नालले टाउकोमा हिर्काए, लाठी र बुटको नील शरीरमा कति थिए मलाई मात्र थाहा छ, उनीहरुकै कुटाईका कारण म बेहोश हुन्थें, होशमा आउँदा पनि उनीहरुले कुटि नै रहेका हुन्थे ।’

यसरी परे जेल
अदालतमा सुमन विरुद्ध छिमेकी भविश्वरा थापाको घर तोडफोड तथा सिक्री र सुनचाँदी डकैती गरेको अभियोगमा मुद्दा चलिरहेको थियो । त्यही बेला उहाँ सिकिस्त विरामी पर्नुभयो । टाउको दुख्ने, रिंगटा लाग्ने, अरुचि हुने भएपछि प्रहरीले उहाँलाई जिल्ला अस्पताल म्याग्दीमा भर्ना गरे, तर जिल्ला अस्पतालले उपचार गर्न नसक्ने भन्दै गण्डकी अस्पतालमा रेफर गर्‍यो र म्याग्दी कारागारले पनि उहाँलाई कास्की कारागारमा स्थानान्तरण गर्‍यो । त्यत्तिबेला सुमनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाईसकेको थियो ।

उता गण्डकी अञ्चल अस्पतालले पनि सुमनको उपचार गर्न नसक्ने भन्दै वीर अस्पताल पठायो र वीर अस्पतालले सुमनको बे्रेन ट्यूमर भएको रिपोर्ट दियो । सुमन त्यत्तिबेला नख्खु कारागारमा आइसक्नुभएको थियो । डाक्टरको सल्लाह बमोजिम नियमित औषधि सेवन गरेपछि अन्ततः उहाँको ब्रेनको सल्यक्रिया गर्नु परेन । उहाँको स्वास्थ्य अवस्था सुध्रिएको प्रमाणित भयो । लामो समय नख्खु कारागारमा बसेपछि सुमन स्वस्थ भएर गृह जिल्ला म्याग्दी नै फर्कने गाँईगुँई हल्ला चल्न थाल्यो । उहाँलाई आशा थियो, आफू विरुद्ध लागेको अभियोगमा सफाई पाइएला ।

तर म्याग्दी पुग्दा भयो, उहाँलाई जिल्ला अदालत म्याग्दीले ६ वर्ष कैद र १ लाख ४६ हजार १ सय ७५ रुपैयाँ जरीवाना गरिसकेको रहेछ । त्यो रकम पनि बुझाउन नसके १० वर्ष कैद बस्नुपर्ने फैसला सहितको कैदी पूर्जी थमाए उहाँलाई । अब सुमन डकैती ठहरिए र कैदी भए । नखाएको विष लागेपनि सुमनले कैद भुक्तान गर्न थाल्नुभयो । त्यही बेला जेलभित्र कैदी कैदी बीच झगडा गर्ने होहल्ला गर्ने गर्न थाले । त्यो वातावरण सुमनका लागि उचित नभएपछि अन्तै सारिपाऊँ भनेर निवेदन दिनुभयो ।

आफू बिरामी मान्छे भएको र अशान्तिको भीडमा बस्न चाहन्न भनेपछि म्याग्दी कारागार प्रशासनले दमौली कारागार पठायो । त्यहाँ पनि बस्ने वातावरण नभएपछि जेलसार गर्दै उहाँलाई मकवानपुरको भीमफेदी जेलमा पुर्‍यायो । त्यतिबेला उहाँले जिल्ला अदालतको फैसला चित्त नबुझेको भन्दै पुनरावेदन अदालतमा मुद्दा दायर गरिसक्नुभएको थियो ।
तर जिल्ला अदालतमा अभियुक्तको स्वीकारोक्ति बयान भएकाले पुनरावेदन अदालतले पनि जिल्लाकै फैसलालाई सदर गर्‍यो । यही बिचमा नख्खु कारागार प्रशासनले अनुशासित कैदीबन्दी भए जेलसार गरेर पठाउनु भन्ने पत्र देशका विभिन्न जेलमा पुग्यो । भीमफेदी जेलमा कैद भुक्तान गरिरहेका सुमन त्यही अनुशासित कैदी मध्येमा पर्नुभयो र नख्खु जेलमा आइपुग्नुभयो । नख्खुमा आएपछि उहाँले मुडा बनाउने सीप सिक्नुभयो र कारागारमा बुनेको मुडाको पैसा घरमा पनि पठाउनुभयो ।
केही समय उहाँसँगै जेलमै राखेका सानो छोरोलाई भने एड्भोकेसी फोरम नेपालले संरक्षणका लागि लागिसकेको थियो । जिल्ला र पुनरावेदनको फैसला विरुद्ध अदालत जाने सुमनको सामथ्र्य थिएन । बिचमा बाग्लुङकै अधिवक्ता राम शर्माले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभयो । जिल्ला तथा पुनरावेदन अदालतले तोकेको कैद तथा जरीवाना भुक्तान हुनै लाग्दा मात्र उहाँलाई २०७१ सालमा सर्वोच्च अदालतबाट न्यायधीस सुशीला कार्कीको इजलासले निर्दोष सावित गर्दै फैसला सुनायो । यसरी एक जना निर्दोष व्यक्तिले न्याय पाउन ९ वर्ष ७ महिना १५ दिन जेलमा बिताउनु पर्‍यो ।

यस्तो छ जेल र बिहेको सम्बन्ध

२०६३ जेठ १८ गते बेनी बजार घुम्दै गर्दा पक्राउ गरेर प्रहरीले हप्काउन थालेपछि मात्र बल्ल सुमनलाई थाहा भयो कि, २०६३ जेठ ८ गते राती म्याग्दीको मंगलघाटमा रहेको भविश्वरा थापाको घरमा तोडफोड भएको रहेछ । भविश्वरा थापाले आफ्नो सिक्री र सुनचाँदी समेत लुटेको भन्दै खरीमाया विरुद्ध प्रहरीमा उजुरी दिएपछि सासुको बयानको आधारमा सुमन पनि तानिएका रहेछन् ।

सुमन त्यसबेलाको घटना सम्झिनुहुन्छ ‘छोरी भगाएपछि बदला लिन सासुले त्यो घटना मेरो नेतृत्वमा भएको बयान दिनुभएछ, हुन पनि उहाँले भविश्वराको घरमा तोडफोड गर्न केही युवाहरु परिचालन गर्नुभएको रहेछ ।’ सुमनका अनुसार भविश्वरा र खरीमाया बिच त्यो घटना हुनु अघि जुवातास खेलाएको विषयमा झगडा भएको थियो ।



दुबईबाट आइपुगेका आफ्नो श्रीमानको पैसा जुवा खेलाएर सकाएको भन्दै खरीमाया (सुमनका सासु ) ले भविश्वरासँग झगडा गर्नुभएको थियो । पछि सुमन नै डकैतीका प्रमुख योजनाकार भएको बयान दिदै सुमनका सासु खरीमाया पुन प्रहरी हिरासतबाटै छुटेकी थिइन् ।


काखे बच्चा छोडेर श्रीमती अर्कैसँग


जसका कारण सुमनले झण्डै १० वर्ष जेल जीवन बिताउनुभयो । निर्दोष भएर घर फर्किदा जेलको कहानी सुनिदिने र दुःखमा तुरुक्क दुई थोपा आँसु चुहाइदिने श्रीमतीले समेत घर त्यागिसकेकी रहेछिन् । ‘म दमौली हुँदासम्म बेला बेलामा भेट्न आउँथिन् त्यही क्रममा कारागार सुरक्षामा खटिएका प्रहरीसँग लभ परेर त्यही प्रहरीले भगाएछन्, सुन्दैछु बुटवल तिर छन् रे !’


गहभरी आँसुपार्दै सुमनले आफू एक्लो हुनुको पीडा सुनाउनुभयो ‘दश वर्षसम्म जेल बसेपनि घर फर्किदा श्रीमती भए उनलाई पाउनकै लागि गरिएको कठोर तपस्या ठान्थें, तर यहाँ त न उनी छिन् न केही गरौंला भन्ने योजना । जिन्दगी साह्रै लथालिङ्ग भयो ।’


जेलमुक्त भएपछि सुमनले एड्भोकेसी फोरम नेपालको संरक्षणमा राखेको नाबालक छोरालाई समेत घरमै लैजानुभएको छ । १० वर्षका सुमनका छोरा अहिले कक्षा तीनमा अध्ययनरत छन् । उहाँ अहिले दश वर्षे जेल जीवनको क्षतिपूर्ति कसरी भराउन सकिन्छ भनेर जान्नेसुन्ने सँग सोधपुछ गर्दै हिँड्नुहुन्छ ।


श्रोत : पिटि लोप्चन , उज्यालो
Powered by Blogger.