ads

ads
ads

आज आफ्नै बारेमा लेख्दै छु


लाई राम्ररी चिन्ने साथीहरू पित्रुके भन्नुहुन्छ । किनकी मलाई सानोतिनो कुराले पनि चित्त दुखी हाल्छ । कसैको दु:ख देखेँ भने आँसु खसी हाल्छ । बरु दुई वचन सहन्छु , फर्काउन चाहन्न । बरु एक्लै रुन्छु । कसैसँग पनि नराम्रो नहोस भन्ने मेरो चाहना । सबैसंग राम्रो संबन्ध बनाउने कोसिस गरिरहेको हुन्छु । यसैलाई मेरो कमजोरी ठानेर कहिलेकाही साथीहरू अचाक्ली गर्नुहुन्छ । दिक्क लाग्छ , चित्त त दुख्छ नै रिस पनि अति उठ्छ । तर रिस र ईख थुपारेर राख्न कहिले जानिन । कसैसँग नराम्रो भयो भने पनि चाँडै भुलिहाल्छु । आफै बोलाएको थुप्रै उदाहरणहरु पनि छन् । यसो गर्दा कसैले झुक्यो भनेर अरुसंग गफ नि लगाएका छन् । तर म त्यसलाई प्रवाह गर्दिन । किनकी म जे छु , सहि छु जस्तो लाग्छ ।

अर्को मेरो स्वभाव , म हरेक कुरालाई सकारात्मक नजरले हेर्ने गर्छु । हरेक विषय र घटनाक्रमलाई सकारात्मक नजरले हेरेर अर्थ्याउने कोसिस गरिरहेको हुन्छु , अपवाद बाहेक । फुलको आँखामा फुलै संसार भने झैँ राम्रो नजरले हेर्‍यौं भने राम्रो देखिन्छ भन्ने मेरो मान्यता हो । गुलाबको बोटलाई पनि राम्रो नजरले हेर्‍यौँ भने सुन्दर गुलाब देखिन्छ तर दाँयाबाँया सोचेर हेर्‍यौँ भने लामा-लामा काँडा देखिन्छ ।

नकारात्मकता भित्र सकारात्मक खोज्नेक्रममा कहिलेकाही चुक्नु पनि परेको छ । किनकि कलियुगमा असत्य हावी छ । उसैको वर्चस्व जम्दै छ । तथापि दस वर्ष बढि झोला बोकेर नेपालका बस्ती बस्ती चहार्दा समाजबाट सिकेका ज्ञान र अनुभवलाई व्यवाहारत: उतार्ने प्रयास गरिरहेको छु । अवरोधका अग्ला पहाडहरु पनि छलाङ मारेर अगाडी बढ्ने कोसिस जारी छ ।
अक्सर समसामयिक घटनाक्रम र विषयवस्तुहरु माथी टिकाटिप्पणी गरिरहेको हुन्छु । चाहे त्यो सामाजिक संजालमा होस अथवा ब्लग र अनलाईन वा अन्य छापा संचारमाध्यम । सामाजिक संजालमा धेरै शुभेच्छुक साथिहरुको प्रतिक्रिया पाउँछु । मलाई जत्तिले प्रशंसा गर्नुहुन्छ त्यति नै मन नपराउनेहरु हुनुहुन्छ । किनकी म छु नै त्यस्तो । साथीहरू मेरो स्वभाव छुच्चो छ भन्ने गर्नुहुन्छ । प्याच्च बोलि हाल्ने , लेखीहाल्ने ।

उबेला करिब १०/१२ वर्ष अगाडि , जतिबेला भर्खर म छापा संचारमाध्यमका लागि समाचार संकलन गर्न सिक्दै थिएँ । माईक समातेर कार्यक्रम संचालन गर्न सिक्दै थिएँ । त्यतिबेला देखि नै मैले यसरी मनमा लागेको कुरा प्याच्च भनिहाल्ने बानी बसाएको हुँ । जुन यद्यपि कायम छ । यहि स्वभावका कारण मलाई छुच्चो मान्छेको दोष लाग्ने गर्दछ ।

अध्ययन , पत्रकारिता , सामाजिक कार्यकर्ता , गैसस (CBO / NGO) को विकासे कार्यकर्ता हुँदै रेगिस्तानी मजदुर बन्न पनि भ्याएँ । करिब २७ महिना देखि युएई (दुबई) मा संघर्ष गर्दैछु । यहाँ आईपुगेपछि धेरै शुभेच्छुकहरु पाएँ । बुज्रुकको साथ र सहयोग पाई नै रहेको छु ।  पुराना साथीहरू संग पनि पुनर्मिलन भएको छ ।

यहाँको दुनियाँ फरक छ , तर कहिलेकाही नेपालकै छनक पाउँछु । नेपालीहरु बिचको जमघट , दर्जनौँ नेपाली संघसंस्था , समाजसेवीहरुको लस्कर आदि कुराले कहिलेकाही नेपालकै स्वाद दिने गर्छ । यद्यपि कहिलेकाही यहाँको दिक्दारलाग्दो संस्कार , राजनीतिक खिचातानी , आरोप प्रत्यारोप र खुट्टा तानातान देखि वितृष्णा पैदा हुने गर्छ  । यो सब नेपाली नेपाली बिचकै कुरा हो । नामकै रूपमा त १ सय बढी नेपाली संघसंस्था खुलेका छन् यहाँ तर सक्रिय संस्थाको नाम हातका औंलामा अँट्छन भन्दा अत्युक्ति नहोला ।

यो र यस्तै कुराहरुले कहिलेकाही सबै संबन्ध टुटाएर नितान्त आफ्नो काममा मात्रै ध्यान दिउँ कि जस्तो पनि लाग्छ । तर बानी र नशा जो छ , बिल्कुल नसकिने ।  सामाजीक क्षेत्रमा बितेको पछिल्लो एक दशकले यही सिकायो , घुलमिल - मेलमिलाप , सहयोगको आदानप्रदान र सामाजिक प्राणीको उदाहरण ।

खैर , जे होस । अपवाद बाहेकका अन्य कुरा यथावत राख्दै अब केही फरक बन्ने कोसिस गर्दैछु । किनकि खाडिमा बिताएको २७ महिनाले मलाई धेरै कुरा सिकाएको छ । अलिअली स्वार्थी पनि बन्नु पर्दो रहेछ , तर यसको मतलब स्वार्थको भकारी नै निर्माण गर्नुपर्छ भन्ने चैँ होईन । म जस्तो छु , त्यो ठिकै छ । थोरै परिमार्जन मात्रै गरे पुग्छ कि जस्तो लाग्छ । तर के के कुरा परिमार्जन गर्ने भन्ने चै समयले निर्दिष्ट गर्ला । धन्यवाद !!!
२०७३ असार १२ , अबुधाबी
Powered by Blogger.