ads

ads
ads

जुठी दमिनीको अभिव्यक्ति

प्रतिनिधि तश्विर 
जदौ हजुर…।
मालिक अलिक टाढै बस्नुस्
नाउँ लक्ष्मी, आमा–बाकी एउटी छोरी ।
न जेठी न कान्छी
न ठूली न सानी
गरिबको घरमा बत्ती बलेकी थिएँ, हजुर बत्ती ।
तर कर्मको खोटी
अलच्छिन मोरी
बाह्र वर्ष नपुग्दै
पोली खाएँ बा–आमा
असारको पैह्राले किचेर
एकै चिहान परे कठै
हाट भरेर फर्केकाहरु ।

कहाँ जाने अभागिनी ?
आँखाको सोझी
मावल हुत्तिएकी ।
सौतेनी माइज्यू
छोरीको रुपमा यो त डङ्किनी पो रहिछ
आमा–बाबु ज्यूँदै खाई भन्दै
भुत्ल्याउने गर्थी ।

हजुर मालिक, मेरो बिहे भएको होइन
ढाँटेर के हुन्छ ?
सौतेनी माइज्यूले उसैको भाइको
सौता हालिदिएकी
मेरी जेठी पिण्ड रोगी
म त काम गर्न आएकी
पन्ध्र पुगेर सोह्र मात्र टेकेकी ।

ऊ त्यो लालुपातेको फूलजस्तै थिएँ हजुर
यो दमिनीको कत्रो रुप भनी
र्याल काट्थे बूढा बिष्टहरु ।
मालिक हजुर, कसैको जुठो खाएर हुर्केकी होइन
म त आएको तीन दिनमै
मुखेनीले न्वारान गरिदिई– जुठी
जेठीमाथि सौता हुन
जुठे दमैसँग पोइल आएकी
म जुठी कान्छी ।

पुर्पुरोमा यस्तै रहेछ मालिक
सबै जुठी कान्छी भन्छन्
हाम्लाई यस्तो मायापिरती क्यै थाहा छैन हजुर
आइमाईको जातले छोराछोरी पाउनु
कुन महाभारत भयो त ?

टालाटुली बटुली
आफै सिलाकी यो चोली
जुम्रा पर्छ घरीघरी
केलाउन पस्नुपर्छ कुनाकानी ।
लाजशरम एउटै हो हजुर आइमाई जात सबैको
रुझ्नु, भिज्नु, चिसिइनु, खट्नु
सुक्खा खोकी लाग्छ, ज्वरो आउँछ रातभरि
मर्ने काल आउँदैन, बाँच्ने मन छैन मालिक ।

साह्रै नै बाँझो भएको छ,
ऊ त्यो बनमारा फैली झ्यामिएको पाखाजस्तै
सक्नुहुन्छ भने दखल गरिदिनुस्,
जोतिदिनुस् क्यार
जदौ हजुर…।
बीउ छर्न लायक बनाइदिनुस् क्यार ।

- पारिजात 
Powered by Blogger.