Header Ads

HTML5 Icon

युएईका घरेलु नेपाली महिला कामदारको स्थिति

  • कामदार भन्छन् : छिटो बाटो खुलाउ


सिन्धुपाल्चोक राम्चेकी शान्ती तामाङ सन २०१० मा दिल्ली हुँदै दलाल मार्फत दुबई आउनुभएको हो । दुबई झरेको ३ दिनमै वहाँलाई अजमानमा एक स्थानीयको घरमा काम गर्न पठाईयो । खान , बस्न सहित मासिक १ हजार दिराम वहाँले पाउने हुनु भयो ।

सानो परिवार भएकोले काम पनि सहज , पारिश्रमिक पनि वहाँलाई चित्त बुझ्यो । २ वर्ष काम गरिसकेर वहाँ बिदामा घर जानु भयो । फर्किएर पुनः काममा लाग्नु भयो , एवं रितले निरन्तर वहाँ सोही घरमा कार्यरत हुनुहुन्छ , घरेलु कामदारका रूपमा ।

शोभा त एक प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । युएईमा करिब १० हजार नेपाली महिला दिदिबहिनी घरेलुु कामदारको रूपमा कार्यरत हुनुहुन्छ । यद्यपि दूतावासको तथ्यांकमा भने यो संख्या कम छ । दूतावासको रेकर्डमा करिब २५ सय नेपाली महिला मात्रै घरेलु कामदारको रूपमा कार्यरत छन । तर यो तथ्यांक यथार्थ भन्दा फरक छ ।

श्रम मन्त्रालयबाट स्वीकृति नलिई अन्य माध्यमबाट युएई आएर घरमा काम गरिरहेका नेपाली महिलाहरुको संख्या अधिक रहेको छ यहाँ । ती मध्ये कोहि त दशक अघिदेखि निरन्तर कार्यरत पनि छन् । घरमा हुँदा मेलापात र चुलोचौका गरेका दिदिबहिनीहरुलाई विदेशमा आएर पनि सोही प्रकृतिको काम गर्न उत्ती गाह्रो त नहोला , तर आम मानिसले सोचे जस्तो सजिलो भने छैन ।

५ वर्ष देखि सारजाहको एक घरको कार्यरत पाल्पाकी सरस्वती चालिसे भन्नुहुन्छ - "ठूलो परिवार छ , काम गर्ने २ जना । बिहान ५ बजे देखि राती १२ बजेसम्म जोतिनुपर्छ।" "दिउँसो एकछिन आराम गर्न पाईहाले पनि कहिलेकाही  सास फेर्ने फुर्सद हुँदैन ।" सरस्वती संगै काम गर्ने साथी फिलिपिनी महिला छिन , उनिहरुले लगभग संगै त्यो घरमा काम गर्न शुरु गरेका हुन । सरस्वती थप्नुहुन्छ "काम त त्यति गाह्रो छैन , किचकिच पनि छैन , तलब पनि समयमै दिन्छन् तर धेरै खटिईनुपर्छ " ।

सरस्वतीको भोगाई युएईका घरेलुु नेपाली महिला कामदारहरुको साझा भोगाई हो । आरामले सुत्न पाउने भनेको मुस्किलले ४/५ घण्टा मात्रै हो । बिहान ५ बजे त ओछ्यान छाड्नैपर्छ । त्यसपछि सफाईबाट शुरुहुने दैनिकी अत्यन्तै व्यस्त रहन्छ , लगभग मध्यरात सम्मै । तर सबैकोमा यस्तै स्थिति भएको भने होईन , तथापि अधिकांश घरेलुु महिला दिदिबहिनीहरुको दिनचर्या यस्तै छ ।

बच्चाको हेरविचार , सरसफाई , भान्साको काम , लुगा धुने , आईरन गर्ने , मिलाउने देखि लिएर सपिङ जाँदा भरिया समेत बन्नुपर्छ यहाँका घरेलु कामदार । विशेषगरी शिप , शिक्षा र अनुभव कम भएका महिला दिदीबहिनीहरु यस क्षेत्रमा कार्यरत हुनुहुन्छ । ती मध्ये अधिकांश घरायसी समस्याका कारण बाध्यताले विदेशीएका छन् । लहैलहैमा लागेर आउने पनि नभएका भने होईनन । सबैको दु:ख एउटै छ । भोगाई उस्तै छ , अपवाद बाहेक ।

विध्यालय पढ्दापढ्दै उमेर बढाएर नागरिकता र राहदानी बनाएर ३ वर्ष अगाडी अबुधाबी आएकी २० वर्षिय शान्तिकला राई अहिले अबुधाबीमा कार्यरत हुनुहुन्छ । वहाँ भारतीयको घरमा बालबच्चा स्याहर्नुहुन्छ , होमवर्क गराउनुहुन्छ । सरसफाई , विध्यालयको पोशाक मिलाउने , विध्यालाय पुर्याउने , ल्याउने संपुर्ण जिम्मेवारी वहाँकै हो ।

आफू पढ्ने उमेरमा अहिले वहाँ विदेशमा अरुको बालबच्चाको स्याहार्ने , पढ्न पठाउने , ल्याउने गर्नुहुन्छ । पारिश्रमिक उत्ति चित्तबुझ्दो नभएपनी "नहुनु मामा भन्दा त कानो मामा नै निको" भन्दै चित्त बुझाएर बस्नु परेको वहाँको दुखेसो छ । जुन रहर नभएर बाध्यता हो , बिदामा घर जाने मन भएर पनि घर जान पाउनु भएको छैन । यसको छुट्टै कारण छ ।

शान्तिकला कै जस्तो भोगाई छ झापाकि चन्द्रकला माझीको , वहाँ युएई आउनु भएको ७ वर्ष भयो । काखे बच्चा छोडेर सन २००० मा युएई आउनु भएको माझी जुमेरामा कार्यरत हुनुहुन्छ । घरको सबै काम सकाएर बालबच्चा स्याहार्ने , विद्यालय पुर्‍याउने , ल्याउने सबै जिम्मेवारी वहाँको काँधमा छ ।

यहाँ घरेलु नेपाली महिला कामदारले पाउने तलब भनेको १ हजार दिराम देखि २ हजार दिराम हो । कसैकसैले यो भन्दा धेरै पनि पाएका छन् । तर त्यो संख्या न्यून छ । काम र दाममा जेनतेन सन्तुष्ट नै छन् यहाँ कार्यरत नेपाली दिदिबहिनीहरु । तर १२ देखि १८ घण्टा सम्मको नियमित खटाई , उसमाथी हप्ते बिदा नमिल्नु आदि बाध्यताका बिच गुजारेका छन् प्रत्येकले आफुलाई ।

गत महिना सुनसरीको धरानबाट भिजिट भिजामा ल्याईएकी सीता विकलाई अजमानमा एजेन्सी खोलेर बसेका एक नेपाली दलालले १७ हजार दिराममा अबुधाबीको एक घरमा बिक्री गरे । कामको चाप धेरै भएकाले सीताले त्यहाँ काम गर्न सकिनन । मालिकले उनलाई एक सातामै एजेन्सीमा फिर्ता गरिदियो । यहाँ यस्ता एजेन्सी खोलेर बसेका नेपाली प्रसस्तै छन् । उनिहरुले विभिन्न लोभ देखाई नेपाली दिदिबहिनीहरु ल्याएर १० देखि २० हजार सम्ममा आपूर्ति गर्ने गर्दछन ।

पछिल्लो समय नेपाली दिदीबहिनीहरुको बाध्यताको फाईदा युएईमा मानव तस्कर गर्ने नेपाली दलालहरुले लिन थालेका छन् । एजेन्सी नै खोलेर बसेका नेपाली दलालहरुले भिजिट भिजा र अन्य गैह्रकानुनी बाटोबाट नेपाली दिदिबहिनीहरु ल्याएर यहाँ बिक्री गर्ने गरेका छन् । एयरपोर्टमा सेटिङगरि भिजिट भिजामा युएई ल्याएर अलपत्र पार्ने क्रम ह्वात्तै बढेको छ । त्यसरी अलपत्र पर्ने नेपाली महिलाहरु नेपाली दूतावास अबुधाबीको शरणमा आउने गरेका छन् । दूतावासमा रहेको सेफ हाउसमा आश्रय त पाउँछन् तर दूतावासलाई उनीहरुको खाने र नेपाल फिर्तीको हवाई टिकटको खर्च जोहो गर्न मुस्किल पर्ने गरेको छ ।

  • यस्तो छ सरकारी निति

घरेलु कामदारहरुको व्यवस्थित आपूर्ति र हितलाई मध्यनजर गर्दै सरकारले घरेलु कामदार संबन्धी निर्देशिका २०७३ जारी गरेको छ । जसअनुसार सरकारले गन्तव्य मुलुकसंग दुई पक्षीय श्रम सम्झौता वा समझदारी गरेर मात्रै वैदेशिक रोजगारीमा घरेलुु कामदार पठाउने अनुमती दिन सक्छ । २०७३ साल चैत्र ३ गतेको मंत्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै चैत्र २० गते बसेको व्यवस्थापिका संसद अन्तर्राष्ट्रिय संबन्ध तथा श्रम समितिको बैठकले संनन्धित मुलुकले घरेलु कामदार संबन्धी ठोस कानुन नबनाउँदासम्म र नेपालसंग द्विपक्षीय श्रम सम्झौता नगर्दासम्म खाडी मुलुकमा घरेलुु कामदार पठाउने कार्य पुर्णतः बन्द गर्न निर्देशन दिएको थियो । यो निर्देशन कार्यन्वयनमा आएसंगै हजारौं नेपाली घरेलुु कामदारहरुको श्रम स्वीकृति रोकिएको छ ।

श्रम स्वीकृति रोकिएकाले कठिन समस्याहरुको बाबुजुद पनि घरेलुु नेपाली महिला कामदारहरु स्वदेश फर्किन सकेका छैन । यो सरकरी व्यवस्थाले विदेशमा कार्यरत नेपाली दिदीबहिनीलाई स्वदेश फर्किन रोक लगाएको छैन तर स्वदेशबाट पुनः काममा फर्किने बाटो भने बन्द गरिदिएको छ ।

  • श्रम सम्झौता नहुँदा घर फर्किन पाएनन्

सरकारी तथ्यांकमा जेजति भनिए पनि युएईमा करिब ४ लाख नेपाली रहेको अनुमान लगाईन्छ । ती मध्ये करिब ५० हजार त महिला मात्रै छन् । जसमध्ये क्लिनिङ , क्यासियर , प्रमोटर , ब्युटिसयन , घरेलु कामदार अधिक रहेका छन् । अन्यको हकमा समस्या नभएपनी करिब १० हजार नेपाली महिला घरेलु कामदार भने यतिबेला पछिल्लो सरकारी नीतिबाट पीडित बनेका छन् ।

सरकारले घरेलुु कामदारको श्रम स्वीकृति रोक लगाएर स्वदेशबाट पुनः फर्किने बाटो बन्द गरिदिएपछि चाडबाड मनाउनु त परै जाओस ठूलो पारिवारिक घटना हुँदा समेत नेपाली महिला  कामदार स्वदेश जान पाएका छैनन् । घरमा आमाबाबुको मृत्यु हुँदा समेत मालिकको घरमा शोक मनाएर बस्न बाध्य छन् । आफ्नै श्रीमानको मृत्यु हुँदा समेत घर जान नपाएको तितो अनुभव सुनाउनु भयो सल्यानकि नेत्रकुमारी शर्माले । वहाँ  विगत ७ वर्ष देखि वरदुबईमा कार्यरत हुनुहुन्छ ।

श्रम ईजाजतको समयावधि ३ महिनासम्म भएकाहरुलाई नेपालको अध्यागमनले विदेश फर्किन अनुमती दिने गरेको छ । तर श्रम ईजाजतको समयावधि सकिएका र ३ महिना भन्दा कम भएकाहरुलाई भने फर्किन अनुमति छैन । राहदानी मालिकसंग हुने र मालिकले कामदारको भिजा , धरौटी र अन्य प्रक्रिया पूरा गर्दा ठूलो धनराशि खर्च गर्ने भएकोले आफ्नो कामदार फर्किने सुनिश्चित नभएसम्म बिदा दिंदैनन । युएईमा यसैको सिकार बनेका छन् हजारौं नेपाली महिला ।

यस विषयमा बुझ्न नेपाली दूतावास पुगेको पंक्तिकारसंग कुरा गर्दै नेपाली दूतावास युएईका द्वत्तिय सचीव कृष्ण अर्यालले युएई र नेपाल बिच घरेलु कामदार संबन्धी श्रम सम्झौता अन्तिम चरणमा पुगेको हुनाले चाँडै नेपाली घरेलुु कामदारहरुले राहत पाउने बताउनु भयो । युएई सरकारले समेत भर्खरै घरेलुु कामदारको हितमा महत्त्वपूर्ण कानुन  ल्याएको वहाँले जानकारी दिनु भयो । जसबाट युएईमा कार्यरत नेपाली घरेलु कामदारहरुले प्रत्यक्ष लाभ लिने अर्यालको भनाई छ ।

  • कामदार भन्छन् : छिटो बाटो खुलाउ

युएईमा घरेलुु कामदारको रूपमा कार्यरत नेपालीहरुले श्रम स्वीकृति तत्काल खोली घर फर्किने बाटो खुल्ला गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् ।

सरकारले घरेलुु कामदार संबन्धी निर्देशिका जारी गरेर कामदारको हितमा गम्भीर भएको पुष्टि त गर्‍यो तर निर्देशिका कार्यन्वयनमा ढिलाई गर्नाले हजारौं कामदार घर फर्किने बाटो बन्द भएको छ ।

युएईमा घरेलुु कामदारको रूपमा कार्यरत नेपाली  पुरुषको संख्या न्यून छ । यस नितिबाट प्रभावित हुने भनेको महिला नै हुन । जो घरखर्च टार्न बाध्यताले विदेश बस्न बाध्य छन् । २ वर्षको करार अवधी सकेर स्वदेश फर्की पुनः श्रम स्वीकृति लिएर युएई आउने महिलाहरु श्रम स्वीकृति नहुने भएपछि यहिँ बस्न बाध्य छन् ।

दशैं , तिहार जस्ता चाडपर्व मनाउन त पाएनन नै परिवारमा विपत पर्दा समेत 'ईमर्जेन्सी' बिदामा घर जान नपाउँदाको पीडा धेरैको छ । स्याङ्जाकि कल्पना सुवेदी आफ्नै छोरा गम्भीर दुर्घटनामा परि घाईते हुँदा समेत घर जान सकिनन । यस्ता व्यथा धेरैका छन् । जो मन मिचेर बस्न बाध्य छन् ।

बाध्यताले परिवारबाट टाढिएका नेपाली कामदारको पीडा बुझ्ने प्रमुख दायित्व सरकारको हो । हजारौं नेपाली महिलाहरुको भावना बुझेर यथासक्य चाँडो श्रम स्वीकृति खुलाउन जरुरी छ । कार्यस्थलमा घरेलुु महिला कामदारहरुमाथी हुने हिंसा र दुर्व्यवहार रोक्न नीति मात्रै काफी छैन । समयसमयमा स्थलगत अनुगमनका निम्ति मातहतका निकायहरुलाई निर्देशनात्मक आदेश दिन समेत जरुरी देखिन्छ । संबन्धित देशका दूतावासहरुले यसतर्फ ध्यान दिन आवश्यक छ ।
Powered by Blogger.